पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

-


     सफल आवाज    
     मंसिर १ गते २०७८ मा प्रकाशित


पोखरा १ मंसिर । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरेको छ । बुधबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए । उनले आधारभूत तथ्य निर्माणका लागि पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको समेत उल्लेख गरे ।

त्यस्तै आर्थिक साहयता सम्बन्धी कार्यविधि अनुसार गम्भीर रोग लागेका नागरिकलाई निवेदनका आधारमा न्युनतम ५० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँ प्रदान गर्ने गरी गण्डकी प्रदेशका २० जना नागरिकलाई १३ लाख पचास हजार रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका खड्काले वित्तिय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय समेत भएको बताए । बैठकले पवित्रस्थल त्रिवेणी गजेन्द्र मोक्षधामलाई व्यवस्थित बनाउन त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समिति गठन आदेश २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

पर्यटन क्षेत्रको पुर्नउत्थान तथा आर्थिक विकासका लागि प्रदेश सरकार र विकास साझेदार दातृ निकायहरुसँग साझेदार गर्न सहमतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाउने निर्णय भएको उनले बताए ।

विभिन्न अन्तराष्ट्रिय दातृनिकाय र विकास साझेदार संस्थाहरु सहयोग गर्न इच्छुक रहेको र केन्द्र सरकारको अनुमतिबिना प्रदेशले सरकारले केही पनि गर्न नसक्ने भएकाले सहज कानून निर्माणका लागि अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता खड्काले जानकारी दिए ।