
गोदावरी, ४ मङ्सिर । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो ।
किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ । बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयबमोजिम गाउँपालिकाले कोषमा बजेट विनियोजन गरेको थियो । कार्यपालिकाको निर्णयले सो कोषबाट रु दुई करोड झिकेर किसानको लागि गहुँको बीउ खरिद गेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख दीपक खड्काले बताए । गाउँपालिकाको कृषि शाखाका अनुसार बाढीले गरेको क्षतिअनुसार वडा÷वडामा गहुँको बीउ वितरण गरिएको छ । कैलारी गाउँपालिकामा नौ हजार ४१८ परिवारको धानबाली बाढीले नष्ट गरेको थियो ।
गाउँपालिकाभरि छ हजार हेक्टर (१२ हजार बिघा) जमिनको धानबाली नष्ट भएको जनाइएको छ । गाउँपालिकामा सात हजार १२६ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको कृषि शाखाले जानकारी दिएको छ । सो गाउँपालिकाले १० कट्ठासम्म जमिनमा धानबाली नोक्सान भएका परिवारलाई ४० केजी, १० कट्ठादेखि एक बिघा जमिनमा नोक्सान भएका परिवारलाई ८० केजी गहुँको बीउ दिने निर्णय गरेको थियो । एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने निर्णय गरेको थियो ।
रकम अभावका कारण निर्णय गरेअनुसार गहुँको बीउ वितरण गर्न नसकेको कैलारी–३ का वडाअध्यक्ष कैलाश चौधरीले बताए । उनका अनुसार गाउँपालिकाले वडाहरुमा पठाएको गहुँको बीउ गाउँका भलमन्सामार्फत वितरण भइरहेको छ । गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न सहकारीले उत्पादन गरेको गहुँको बीउ र धनगढी, टीकापुरबाट खरिद गरेर किसानलाई वितरण गरेको जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



