भारतमा कोरोना संक्रमितको संख्या घट्दै, मंगलबार डेढ वर्षपछिकै कम संक्रमित

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



नयाँ दिल्ली २१ मंसिर । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित भएको मंगलबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ संक्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सवैभन्दा धेरै संक्रमितहरुको संख्या केरला राज्यमा देखिदै आएको छ ।
पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९५ हजार १४ रहेको छ । यो संख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । कूल संक्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले संक्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको जनाएको छ ।
दैनिक संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ ।