संविधान इमान्दारपूर्वक कार्यान्वयन गरे मुलुक समृद्ध बन्छ : सभामुख अधिकारी (भिडियाेसहित)

-



     आरजू विष्ट सल्यानी    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



पोखरा, २४ मंसिर । ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ आज ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको छ । हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । यसै सन्दर्भमा पोखरामा बिहान मानवअधिकार चोक चिप्लेढुंगाबाट सभागृहसम्म प्रभात फेरिएको आयोजना तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन गरियो ।

गण्डकी प्रदेश सरकार, मानव अधिकार महाभेला गण्डकी तथा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीको मूल व्यवस्थापनमा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मानव अधिकारको बुझाई र ब्याख्यामा अहिले हिजोकाे जस्तो सिमितता नभएको बताए । अधिकारीले मानव अधिकारको दायरा बढेर गएकाे र कानूनले पनि प्रष्टसंग ब्याख्या गरेकोले कार्यान्वयनको खाँचो भएको बताए ।

लोकतान्त्रिक हिसाबले सबैभन्दा मानव अधिकारको ब्याख्या संविधानको धारा १६ देखि ४८ सम्म गरिएकाे छ । जाे मौलिक अधिकारहरुकाे रुपमा रहेका छन् । संविधानलाई इमान्दार भएर कार्यान्वयन गर्ने हो भने संभवतः सुखि नेपाली र समृद्ध नेपाल बनाउन सक्ने संविधानको कल्पनालाई पूर्णता दिन सक्छौं । कोहि पनि मानव अधिकार हनन् भयो भनेर कराउनु पर्ने ठाउँ संविधानले नदिएको बताए । अधिकारीले भने संविधान कार्यान्वयनको सन्दर्भमा केहि समस्या भएको बताए । उनले कार्यान्वयनको क्षेत्रमा रहेका सबैले इमान्दारपूर्वक कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

कानून बनाउने ठाउँमा, कार्यान्वयन गर्ने ठाउँमा बारम्बार भन्ने गरेको बताउँदै सभामुख अधिकारीले भने, जनताको अधिकार दिलाउन, मौलिक अधिकार कार्यान्वयनको दायित्व पूरा नगर्ने हो भने भविष्यमा अहिले उठिरहेको सडकको असन्तुष्टि अर्को ढंगले उठ्नसक्नेतर्फ सजग हुनुपर्ने बताए । अधिकारीले कार्यान्वयनको लागि निरन्तर झकझक्याउने र जवाफदेखि बनाउने कार्यमा कार्यान्वयनकर्ता र सरोकार राख्ने हामी सबै लाग्नुको विकल्प नभएको बताए ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्तले संयुक्त राष्ट्र संघले १९४८ मा जारि गरेको घोषणापत्र ऐतिहासिक भएकाेले हरेक वर्ष मनाउने गरिन्छ भने। हामीले अरु विषयलाई तपसिलमा राख्न सक्छौं तर मानिस भएर सम्मानित भएर बाँच्न पाउने विषय एक नंबरमा आउने बताए । उनले नेपालको संविधानमा रहेका मौलिक अधिकारले मानिसलाई बाँच्न पाउने अधिकारको सुनिश्चतता गरेकोले कार्यान्वयनमा नै जोड दिए ।

पन्तले स्वास्थ्यलगायतका विभिन्न अधिकारहरु कार्यान्वयनका लागि कार्यालय स्थापना भएको बताए । तिनको लागि व्यवहारिक रुपमा अगाडी बढाउन जिम्मेवारी तोकेर काम भईरहेको उल्लेख गरे । उनले राष्ट्रिय कार्य योजना बनाएर आगाडी बढेको, चारवटा कार्य योजना कार्यान्वयनमा आएका र अहिले पाचौं राष्ट्रिय मानव अधिकार कार्य योजना कायान्वयनको चरणमा रहेको बताए ।

मानव अधिकार महाभेला गण्डकी प्रदेशका संयोजक बीना सिलवालले नेपाल दीगो विकास लक्ष्यमा हस्ताक्षर गरेको पक्ष राष्ट्र भएकोले त्यसको कार्यान्वयमा लैजानु पर्ने खाँचाे भएकाे बताइन । उनले नागरिक समाजको तर्फबाट गण्डकीमा हेर्दा धेरै वालवालिका पहिचानबिहिन भएका, धेरै छोरीहरु यौनजन्य हिंसामा परेका, उनीहरु गर्भवती भइ बच्चा जन्मेको, बच्चाको पहिचान नभएको, जन्म दर्ता लगायतका पहिचान राज्यकोतर्फबाट नपाएको बताईन । हामीले जतिसुकै गफ गरेपनि ३३ प्रतिशत कुनैपनि मञ्चमा नपाईएको बताईन । संविधानमा लेखिएको ३३ प्रतिशतको अधिकारलाई लागू गर्न सबैले प्रयत्न गर्नुपर्ने बताईन ।

हाम्रोमा महिला हिंसासम्बन्धी धेरै हिंसाहरु भएका छन् । उनले भनिन् खानपान, गासबास, बोलिचाली, बाहिर जाने र घरमा निर्णय लिने लगायतमा घरैबाट हिंसामा परेकाले घरैबाट समानताको सुरुआत गर्न आग्रह गरिन् । उनले प्रदेशको अस्पतालमा आजको दिनसम्म मानसिक रोग लागेका कसैको लागि पनि उपचार लिन सक्ने अवस्था नभएकोमा गुनासाे गरिन् ।

अपाङ्ग महासंग गण्डकीका अध्यक्ष खोमराज शर्माले कानूनी रुपमा धेरै फड्को मारेको बताउँदै व्यवस्था परिवर्तन भएपनि नागरिककाे अवस्थामा परिवर्तन नभएको बताए । उनले महिला, जेष्ट नागरिक, वालवालिका, पछाडी पारिएका, अपांगता भएका व्यक्तिले मानव अधिकारको समान उपभोग गर्न नपाएको बताए । उनले मानव अधिकार र अपांगता भएकाहरुको अधिकार सुनिश्चित गर्न माग गरे ।

कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका निमित्त प्रमुख खिमलाल सुवेदीले लैगिक हिंसा विरुद्धको १६ दिने अभियानसहित आजको कार्यक्रम समापन भएकाे जनाउँदै मानव अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा भएको बताए । नेपाल संयुक्त संघको सदस्य राष्ट्र भएकोले महासन्धीकाे सम्मान गर्ने, संरक्षण गर्ने र परिपूर्ति गर्ने दायित्व सरकारको भएकोले त्यो जनतामा प्रत्याभूत गर्नुपर्ने बताए ।

अझैं पनि राज्यका निकायहरुले कानुन कार्यान्वयनमा ध्यान नदिएको बताउँदै सुवेदीले २५ नोभेम्बर देखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा ७३ अन्तराष्ट्रि मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रम समापन भएको जनाएका थिए । कार्यक्रमको संचालन तथा सहजिकरण इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले गरेका थिए ।

सफल आवाज