पर्यटन प्रवर्द्धन गर्न ‘चापाकोट महोत्सव’

-



     सफल आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित



पोखरा, २८ मंसिर । सुस्ताउँदै गएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने पोखरा २३ मा ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव २०७८’ आयोजना हुने भएको छ ।

चापाकोट पर्यटन प्रवर्द्धन समितिले पोखरा महानगरपालिका २३ मा पर्यटन भित्र्याउने लक्ष्यसहित तेस्रो संस्करणको विविध प्रतियोगितासहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक भीम पराजुलीले बताए । उनका अनुसार उक्त मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।

संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुना टपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको जानकारी दिए । त्यसैगरी महोत्सवमा बाल नृत्य प्रतियोगितासमेत आयोजना हुनेछ ।
महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समूहले प्रमाणपत्र तथा मेडलसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने समूहले मेडल तथा प्रमाणपत्र सहित क्रमशः २० हजार, १० हजार र ५ हजार हात पार्नेछन् ।

संयोजक पराजुलीले बाल नृत्यतर्फ विजेताले मेडल तथा प्रमाणपत्रसहित तीन हजार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार द्वित्तीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्नेले मेडल तथा प्रमाणपत्रसहित क्रमशः दुई हजार, एक हजार र पाँच सय प्राप्त गर्नेछन् ।

महोत्सवमा विभिन्न प्रतियोगितासँगै साँँस्कृतिक विशेष आकर्षणहरुसमेत समावेश गरिएको पराजुलीले बताए । ‘हामीले प्रतियोगिता मात्रै नभएर लोकसंस्कृति संरक्षण गर्ने उद्देश्यसहित विभिन्न ख्याती प्राप्त कलाकारहरुलाई पनि निम्ताएका छौ,’ उनले भने, योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौं ।’

उनका अनुसार सांस्कृतिक कार्यक्रमतर्फ प्रजापति पराजुली, जीवन दाहाल, पोखरेली माग्ने बुढा, तारापती सुवेदी, सरला पाण्डे, शिवहरी ढुंगाना लगायतको बेजोड प्रस्तुति रहने छ ।