प्रचण्डले चन्दा नदिएको झोंकमा सेयर बजार ध्वस्त पार्ने कुरा बोले : केपी ओली

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेयर कारोबारीले चन्दा नदिएको झोंकमा शेयर बजारलाई ध्वस्त पार्ने कुरा अभिव्यक्त गरेको टिप्पणी गरेका छन् ।

केहिदिन अगाडी प्रचण्डले एउटा कार्यक्रममा शेयर बजारका बारेमा बोलेको नकारात्मक भनाई “शेयर बजार साम्राज्यवादको विकसित रुप हो” यस भनाईले के असर गर्छ भनेर उनले कत्ति सोचेको पाईएन, ओलीले भने ।

बुधबार एमालेका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, शेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले बजार ध्वस्त बनाउने कुरा बोलेका हुन् ।

कार्यक्रममा ओलीले भने, पूँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ । तर प्रचण्डले जान्ने भएर “शेयर बजार साम्राज्यवादको विकसित रुप हो” भनेछन् ।

शेयर बजारका बारेमा बोल्दा त्यसको असर के पर्छ भनेर हेक्का राख्नुपर्छ । लगानी गर्ने लगानीकर्ता, जनतामा कस्तो असर पर्छ भनेर प्रचण्डले सोचेनन्, ओलीले भने ।

शेयरको कारोबार गर्ने कस्ले चन्दा दिएन, त्यसैले शेयर बजारलाई नकारात्मक बाटोमा फर्काईदिन त्यस्तो बोलिदिए, ध्वस्त पारिदिन्छु भनेर बोलिदिए । उनले आफुले त्यस्तो कुरा गरेको भए ठूलो आन्दोलन भईसक्थ्यो र आगो बलिसक्थ्यो भने । उनले भने, अस्थिरता मच्चाउनेहरुले जे गरे पनि हुन्छ, कोहि पनि बोल्न सक्दैनन् ।

केहि दिन अगाडी प्रचण्डले एक कार्यक्रममा बाेल्दै “शेयर बजार साम्राज्यवादको विकसित रुप हो” भनेका थिए । त्यसपछि यसको आलोचना गर्ने क्रम रोकिएको छैन ।