एमसिसि सबै दलको सहमतिबाट मात्रै पास हुनसक्छ : सह-महामन्त्री परियार(भिडियाे)

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



पोखरा, ४ पुस । नेपाली कांग्रेसका स-हमहामन्त्री जीवन परियारले अहिले चर्को बहसका रुपमा रहेको एमसिसि सबै दलहरुको सहमति भएन भने पास हुन नसक्ने बताएका छन् । तर उनले त्यसमा भएका असहमतिका बुँदाहरुलाई हटाएर सबै दलहरुको सहमति लिएर पास गर्न सकिनेमा शंका नभएको बताए ।

प्रेस यूनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा निरन्तर कांग्रेसमा रहेर जिम्मेवारी पूरा गरेकै कारण आफुलाई सहमहामन्त्री बनाएर पठाएको पनि उनले बताए । आफुसंग दुई पटक केन्द्रीय सदस्य भएर ११ वर्ष काम गरेको अनुभव भएको र पार्टीमा काम गर्दै जाँदा अहिले सहमहामन्त्रीको भूमिकामा आएको बताए ।

सहमहामन्त्री परियारले नेपाली कांग्रेसको कास्कीको सांगठनिक संरचना झन् बलियो भएको र यसलाई नयाँ सभापति किशोरदत्त वरालको कार्यकालमा अझैं मतबुत बनाउने विश्वास व्यक्त गरे ।

एमसिसि नेपालमा ल्याउन २० वर्ष अघिदेखि विभिन्न सरकारहरुले काम गरेका हुन् । यसका लागि कुनैपनि दल अछुतो रहेको छैन । सहममहामन्त्री परियारले भने, एमसिसिको वजेट जुन दिने भनिएको छ त्यो वजेट नेपालको विकासको लागि दिने अनुदान हो ।

एमसिसिका लागि जे सम्झौता सरकारले गरेको छ । त्यसमा कुनै कमजोरी भएको छ भने हटाएर सबै दलहरुसंग सल्लाह गरेर एमसिसिको प्रस्तावलाई अगाडी बढाउने बताए । उनले भने, संसदमा विधेयक पेश भएपनि सबै दलहरुको सहमति भएन भने पास हुँदैन तर पास गर्नका लागि सबै दलको सहमति आवश्यक हुन्छ ।

अर्को गुटको प्रसंगमा परियारले भने, पार्टीमा बिचारको बहस हुन्छ त्यसलाई गुटको रुपमा लिन हुन्न । तर कुरा के हो भने हामीले भागबन्डा खोज्ने होईन । पार्टीमा भागबन्डालाई निरुत्साहित गरेर बिचारको आधारमा अगाडी बढ्ने कुरा मुख्य हो ।

यसअघि नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतका नेता, कार्यकर्ताहरुले नवनिर्वाचित सहमहामन्त्री परियारलाई खादा र अविर लगाएर स्वागत गरेका थिए ।

नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारकाे भनाइ तलकाे भिडियाेमा हेर्नुहाेस् ।

सफल आवाज