धमाधम लाभांश घोषणा गर्दै वाणिज्य बैंकहरू, सबैभन्दा बढी मुनाफा दिनेमा नबिल बैंक

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पौष । वाणिज्य बैंकहरुले गत आव ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । सिभिल बैंकबाहेकका सबै बैंकहरुले लाभांश घोषणा गरेका छन ।

२७ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै बैंकले लाभांश घोषणा गर्दै आएका छन् । बाँकी २६ बैंकहरुमध्ये सिभिल बैंकले लाभांश घोषणा गरेको छैन । अन्य २५ बैंकहरुले घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा बढी नबिल बैंकले हरेक वर्ष जस्तै आकर्षक लाभांश घोषणा गरेको छ । यसवर्ष पनि बैंकले ३६.६ प्रतिशत बोनससेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै हिमालयन बैंकले पनि आकर्षक लाभांश दिने भएको छ । हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

वाणिज्य बैंकहरुमा तेस्रो नम्बर सेयरधनीलाई बढी लाभांश दिने बैंक रहेको छ, कृषि विकास बैंक । यस बैंकले १.०५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर गरेर २१.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस सेयर गरी १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने नेपाल एसबीआई बैंक देखिएको छ । एसबीआई बैंकले १.८१ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस गरी ५.३१ प्रतिशत लाभांश दिने भएको छ ।

१७ प्रतिशतभन्दा कम लाभांश दिने बैंकहरु

गत आव ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीका लागि १७ प्रतिशतसम्म लाभांश दिने बैंकहरु २१ वटा छन् । नेपाल बैंकले नगद लाभांश ३ र सेयर लाभांश १४ गरी १७ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ३.३९ प्रतिशत नगद र १२.६१ प्रतिशत सेयर गरेर १६ प्रतिशत, सिटिजन्स बैंकले ३.०९ नगद र १२.९१ सेयर गरेर १६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.६३ नगद र १६ प्रतिशत सेयर गरी १६.९३ प्रतिशत लाभांश दिने भएको छ ।

त्यस्तै एनआइसी एसिया बैंकले ०.७९ नगद र १५ सेयर गरेर १५.७९ प्रतिशत, एनएमबी बैंक ३.३ नगद र १२.५ सेयर गरेर १५.८ प्रतिशत, नेपाल बंगलादेश बैंक ३.५ प्रतिशत नगद र १२ प्रतिशत सेयर गरेर १५.५ प्रतिशत, सिद्धार्थ बैंक ०.७५ नगद र १४.२५ सेयर गरेर १५ प्रतिशत, माछापुच्छ्रे बैंकले नगद ०.७ र सेयर १३.३ गरेर १४ प्रतिशत कुल लाभांश दिने भएको हो ।

बैंक अफ काठमाडौंले नगद ४ प्रतिशत र सेयर १० गरेर १४ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले नगद ३.५ र सेयर १० गरी १३.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल लाभांश १३.०६, प्रभु बैंकले १२.६३, मेगा बैंकले १२.०७, लक्ष्मीले ११.५, एभरेष्टले १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सबैभन्दा कम लाभांश दिने चार बैंंक

यो वर्ष सबैभन्दा कम (१० प्रतिशतभन्दा कम) लाभांश दिने बैंकहरु चार वटा रहेका छन् । जसमा एनसीसी बैंकले ०.४२ प्रतिशत नगद र ८ प्रतिशत बाेनस सेयर गरेर ८.४२ प्रतिशत कुल लाभांश घोषणा गरेको छ । त्यस्तै सनराइज बैंकले ७ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकले ६.०५ र नेपाल एसबीआइ बैंकले १.८१ प्रतिशत नगद र ३.५ प्रतिशत सेयर गरी ५.३१ प्रतिशत कुल लाभांश दिने घोषणा गरेको छ ।