१ वर्षमा नेप्से १०६६ अंकले बढेकाे राष्ट्र बैंकको तथ्यांक, धितोपत्र बजार पुँजीकरण पनि १६ खर्बले बढ्याे

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस । एक वर्षको अवधीमा सेयर बजार एक हजार ६६ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको कात्तिक मसान्तमा एक हजार ७१८.५ अंकमा रहेको नेप्से सूचकांक चालू आवको कात्तिक मसान्तमा दुई हजार ७८४.६ अंकमा पुगेको थियाे ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको तुलनामा धितोपत्र बजार पुँजीकरण पनि १६ खर्बले बढेको छ । गत वर्षको कात्तिक मसान्तसम्म २३ खर्ब दुई अर्ब ७६ करोड रहेको बजार पुँजीकरण चालू आवको सोही अवधीमा ३९ खर्ब १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधीमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् । ४३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । गतवर्षको कात्तिकसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.५ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधीमा नेप्सेमा सूचीकृत ६ अर्ब एक करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/७९ को चौथो महिनासम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको डिबेन्चर, ८ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, सात अर्ब ४६ करोड बराबरको साधारण सेयर, दुई अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र दुई अर्ब तीन करोड बराबरको बोनस सेयर गरी कुल ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

त्यस्तै नेपाल धितोपत्र बोर्डले तीन अर्ब बराबरको म्युचुअल फण्ड, एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण सेयर, एक अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर र २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।