मुलुकभर वर्षा र हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्धसमेत भएका हुँदा स्थानीयबासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको तापक्रम न्यूनतम ३.६ डिग्री र अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियस रहेको छ ।

टेलिफोन सेवा अवरुद्ध

बझाङ – हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ । शनिबारदेखि नै बेला–बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताए । घाम नलाग्दा पहाडी जिल्लाका एफएफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ । रिले स्टेशनमा विद्युत् सेवा नहुँदा सौर्य ऊर्जाका भरमा प्रसारण भइरहेका एफएफको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ ।

तीन दिनदेखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुँदा सेवा प्रभावित भएको जयपृथ्वी एफएम बझाङका अध्यक्ष प्रताप ओलीले बताए । उनले भने, ‘तीन दिनदेखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुनसकेको छैन । रिले स्टेशनमै भारी हिमपात भएको छ । सौर्य ऊर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याइएको छ ।’ दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर बिहान पाँच घण्टा र साँझ पाँच घण्टा मात्र प्रसारण गर्ने गरेको उनको भनाइ छ ।

मनाङको जनजीवन कष्टकार

मनाङ– मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयबासी जिल्ला बाहिरा हिँडेका छन् । मनाङको माथिल्लो भेग थोरांला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।