५० लाख प्रकरण : सौर्य एयरलाइन्सका स्टेशन म्यानेजरसमेत पक्राउ

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा सौर्यकै विराटनगर शाखाका स्टेशन म्यानेजरलाई समेत पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको ५० लाख रुपैयाँ नगदसहित मोरङको विराटनगर महानगरपालिका-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरलाइन्सको जहाजमा विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्दै पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । शनिबार पक्राउ परेकी पोखरेलसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी ५० लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो । बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।