कति छ बैंकिङ क्षेत्रमा तरलता ?

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिदै आएको थियो । तर, पछिल्लो समयमा बैंकिङ क्षेत्रमै पुँजी (तरलता) अभाव भएपछि अति आवश्यकबाहेक बैंकहरुले ऋणीहरुलाई रकम उपलब्ध गराउन सकेका छैनन् । अहिले हेर्दा ऋणीहरुले अन्यौलमा पर्नुपरेको छ । ऋणीहरुको फाइल नै रोक्नुपर्ने स्थितिमा बैंकहरु पुगेका छन् ।

बैंकिङ प्रणालीमा गएको महिना नै उच्च चाप परेपछि बैंकहरूले अनिवार्य तरलता अनुपात (सीआरआर) मात्रै राखेर लगानी गरिरहेका थिए । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिकाअनुसार बैंक तथा वित्तीय क्षेत्रमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमा कायम राख्नुपर्छ । तर, पछिल्लो समयमा बैंकहरूको सीडी रेसियो औसतमा ९२ प्रतिशतभन्दा माथि पुगिसकेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन दिनमा मात्रै तरलता २० अर्ब माइनसमा झरेको थियो ।

चालू आवको पहिलो महिना साउनदेखि नै बैंकिङ प्रणालीमा उच्च चाप परेपछि तरलता अनुपात (सीआरआर) मात्रै कायम राखेर बैंकहरुले लगानी गरिरहेका थिए । गएको महिना यता भने बैंकहरु दोहोरो दबाबमा परेका छन् । एकतर्फ बैकहरुले सीडी रेसियो कायम राख्नुपर्ने र अर्कोतर्फ तरलता अनुपात कायम गर्नुपर्ने छ । सीडी रेसियो कायम गर्न केही समय बैंकहरूले अन्तरबैकिङ सापटीबाट पनि चलाइरहेका थिए । तर, पछिल्लो समय अन्तरबैंकिङ सापटीसमेत पाउन छाडेका छन् । अन्तरबैंक सापटी ब्याजदर अहिले ४.९८ प्रतिशत उच्च बिन्दु पुगिसकेको छ । केही बैंकहरुले त अन्तराष्ट्रिय बैंकहरुबाट ऋण लिन थालेका छन् ।

अहिले बैंकहरुमा अनिवार्य मौजातबाहेक १७ अर्ब रुपैयाँ मात्रै तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट बताउँछन् । ‘अहिले बैंकिङ क्षेत्रमा अनिवार्य मौजातबाहेक १७ अर्ब मात्रै तरलता रहेको छ ।’ उनले भने । तरलता अभावको संकट बैंकिङ क्षेत्रमा मात्रै होइन । यसको असर पुरै अर्थतन्त्रमा देखा परेको छ । राष्ट्र बेंकको पहिलो चौमासिकको तथ्यांकअनुसार पनि अर्थतन्त्रका सूचकहरूले नकारात्मक दिशातिर देखिएका छन् । मुलुकमा उत्पादनको ग्राफ ओरालो लाग्दा आयात बढिरहेको छ । जसले गर्दा समग्र अर्थतन्त्रमै तरलताको असर देखिएको हो । बैंकिङ प्रणालीमा पनि ऋण प्रवाह नहुँदा संकट देखा परेको अर्थशास्त्रीहरु बताउँछन् ।

२२० अर्बको रिपो जारी

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मात्रै दुई खर्ब २० अर्बको रिपो (अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण) जारी गरेर बजारमा पठाएको छ । यो अवस्था भने अत्यन्तै संकटपूर्ण भएको अर्थशास्त्रीहरुले टिप्पणी गरिरहेका छन् । तथ्यांकअनुसार ७२ अर्बभन्दा बढी ओभरनाइट रिपो पनि बैंकहरूले लिइसकेका छन् ।

तथ्यांकअनुसार चालू आवको पहिलो चार महीनामा उच्च आयात र रेमिट्यान्समा कमीका कारण शोधनान्तर घाटा पनि उच्च भएको छ । शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब रुपैयाँले घाटामा छ भने गत आवको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब १० रुपैयाँले बचतमा थियो । यस्तै विदेशी मुद्रा सञ्चितिमा समेत ११ प्रतिशतले गिरावट आएको छ ।