मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमका साथ मनाइयो वार्षिकोत्सव

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले १५औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ ।

बैंकले प्रदेश नम्बर १ मा ४ वटा, प्रदेश नम्बर २ मा तीन वटा, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारिक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरे ।

यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधिकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिकउत्तरदायित्व कार्यक्रमहरु गरेको छ । जसमध्ये विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।

बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले बृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौंको केन्द्रीयय कार्यालय-कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको छ । बैंकले यस वार्षिकोत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल १० लाख रुपैयाँ बढी बराबरको सहयोग गरेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी देशभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्माजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।