क्रस होल्डिङ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशतभन्दा धेरै क्रस होल्डिङ भएका माइक्रोफाइनान्सलाई मर्जरमा नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सोमबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले माइक्रोफाइनान्ससँग कार्ययोजना माग गरेको हो । एकीकृत निर्देशन २०७७ को निर्देशन नम्बर १० मा बुँदा नम्बर १५ मा थप गरि निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

निर्देशन पत्रमा भनिएको छ, ‘बुँदामा थप गर्ने क्रममा राष्ट्र बैंकले ‘इजाजतपत्र ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एकभन्दा बढी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ ।’

सोमबार राष्ट्र बैंकले स्थानीय तहलाई पनि मौज्दात भएको रकममध्ये ७० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानीका लागि निर्देशन दिएको छ । अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको २० प्रतिशतबाहेक सबै रकम उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।