नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बताए । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उनले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

‘मैले लामो समय पार्टीको नेतृत्वमा रहेर विभिन्न ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ, इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको छु,’ उनले भने, ‘यति धेरै उतारचढावबाट गुज्रेर फेरि पनि सक्रिय नेतृत्वको भूमिकामा रहिरहँदा कहिलेकाहीँ फरक भूमिकामा पनि जानुपर्छ जस्तो लाग्छ, तर पार्टी र देशको अवस्थालाई हेर्दा अझै केही समय सक्रिय रहनुपर्छ भन्ने बाध्यता रहेको मलाई महसुस भइरहेको छ ।’

माओवादी आन्दोलनले इतिहासमा निक्कै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको उल्लेख गर्दै उनले आफू नहुँदैमा माओवादी आन्दोलन नसकिने र झन् सक्रिय भएर अगाडि आउने बताए । माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा बृहङ्गम रूपमा छलफल भएको बताउँदै उनले केही व्यक्तिको अराजनीतिक टिप्पणी जस्तो हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गरे ।

‘देशभरीबाट आएका करिब एक हजार ८०० प्रतिनिधिलाई जुन ढंगले अपमान गर्न खोजियो,’ उनले भने, ‘जुन महाधिवशेनले सबैभन्दा धेरै देश र जनताका बारेमा बहस र छलफल गर्‍यो, जनवादी वहसबाट निष्कर्षमा पुर्‍यायो, त्यो कसैको आदेशमा चलेको भनेर प्रचार गर्नु योभन्दा ठूलो बिडम्बना अरु केही हुन्छ ?’

माओवादीलाई क्रान्तिकारी, सर्वाहारा, उत्पीडित जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ‘क्रमभंग’ गरेको उल्लेख गर्दै उनले राष्ट्र र जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ऐतिहासिक संकल्प लिइएको बताए ।