१४ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सहज हुँदै तरलताको अवस्था

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । पछिल्लो सातामा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ । २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब पुगेको हो ।

नेपाल बैंकर्स संघका अनुसार गएको पुस ९ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ कायम थियो । एक सातामा १४ अर्बले बढेर पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो साता अर्थात् पुस २ गतेदेखि ९ गतेसम्म बैंकहरुले चार अर्ब रुपैयाँ निक्षेप गुमाउँदै ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्र संकलन गरेका थिए ।

कर्जा प्रवाह पनि ११ अर्बले बढ्यो

नेपाल बैंकर्स संघका अनुसार कर्जा प्रवाह पनि पछिल्लो साता ११ अर्ब रुपैयाँले बढेको छ । पछिल्लो साता ९पुस ९–१६० मा कर्जाको ग्राफ उकालो लागेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको हो । गत हप्ता ४० खर्ब ८८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले बढेको छ । तथ्यांकअनुसार ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट बढेर ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

बैंकहरूमा तरलताको अवस्था

नेपाल राष्ट्र बैंकले ११ अर्ब पुनर्कर्जा स्वीकृत गरेपछि तरलताको अवस्था सहज हुने अनुमान गरिएको छ । गत साता राष्ट्र बैंकले ११ अर्ब ४८ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेपछि बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था केही सहज देखिएको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप (सीडी) अनुपात पनि ९०‍.७६ प्रतिशतमा झरेको छ ।

पछिल्लो साता निक्षेप संकलनसमेत वृद्धि भएपछि कर्जा लगानी पनि बढेको हो । राष्ट्र बैंकले स्थानीय तहमा मौज्दात रहेको बजेटको अधिकतम् ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने स्वीकृति दिएसँगै थप ३४ अर्बभन्दा बढीले बैंकिङ तरलता बढेको हो ।

जसले गर्दा अहिलेको बजारको तरलता संकट केही हदसम्म टार्ने अपेक्षा गरिएको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नियन्त्रण गरिरहेको बेला एकमुष्ट पुनर्कर्जामार्फत् बजारमा जाने रकमले तरलताको अवस्था केही सहज हुने राष्ट्र बैंकले दाबी गरेको छ ।

साढे पाँच महिनामा एक खर्ब पुनर्कर्जा

चालू आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा राष्ट्र बैंकले एक खर्ब चार अर्ब ८४ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकबाट ११ अर्ब ८४ करोड रुपैयाँ ग्राहक ऋणीअन्तर्गत र ९३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएपछि एक खर्ब चार अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार ११ अर्ब ८४ करोड रुपैयाँ ग्राहकले पाइसकेका छन् भने बाँकी ९३ अर्ब रुपैयाँ पुनर्कर्जा पनि पुस महिनामै बजारमा पठाइसक्ने राष्ट्र बैंकले जनाएको छ । चालू आवमा राष्ट्र बैंकले दुई खर्ब १२ अर्ब रुपैयाँसम्म पुनर्कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।