साहित्यकार वसन्त चौधरीका दुई कृति लोकार्पण

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । साहित्यकार वसन्त चौधरीका दुई कृति ‘तिमीविनाको म’ र ‘अनेक पल और मैं’ लोकार्पण भएको छ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आयोजना भएको कार्यक्रममा नेपाली भाषामा लेखिएको ‘तिमीविनाको म’ कविता सङ्ग्रह र हिन्दी भाषामा लेखिएको ‘अनेक पल और मैं’ कविता सङ्ग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र कवि तुल्सी दिवसले लोकार्पण गरे।

प्रतिष्ठानका कुलपति उप्रेतीले जीवनका अनेक भावनालाई विभिन्न भाषामा कृतिमार्फत समेट्न चौधरीको ठूलो सफलता रहेको भन्दै आगामी दिनका लागि पनि शुभकामना दिए। कवि दिवसले राम्रा कवितामा उचाइ, गहिराइ र फैलावट हुनुपर्ने र यो चौधरीको कविता सङ्ग्रह ‘मितीविनाको म’ पढेपछि प्राप्त हुने भन्दै उक्त कविता सङ्ग्रह नेपाली कविता सङ्ग्रहमध्येको एक उत्कृष्ट रहेको बताए।

कार्यक्रममा मुम्बई विश्वविद्यालयका हिन्दी भाषा विभाग प्रमुख करूणा शङ्करले प्राकृतिक वैभवले सम्पन्न देश नेपालको प्राकृतिक सौन्दर्यबाट प्रेरणा नलिने को होला भन्दै यसको अदभूत आनन्दको स्वाद चौधरीको कृतिमा पाइने बताए। सो अवसरमा सर्जक चौधरीले आफ्नो अनेक कर्ममध्ये मनलाई शान्ति र आनन्द दिने साहित्य र सिर्जना रहेकाले जीवनको अन्तिम घडीसम्म पनि यस क्षेत्रमा कलम चलाइरहने बताए।

सर्जक चौधरीका कृति ‘अनेक पल और में’ हिन्दी कविता सङ्ग्रहले हालै भारतमा आयोजित साहित्य सम्मेलनमा ‘बुक अफ इयर’ को उपाधि जितिसकेको छ । चौधरीका यसअघि ‘राष्ट्रियता नदुखोस’, ‘संवाद’, ‘मेरा डायरीका पानाहरु’, ‘मेघा’, ‘मेरा कविता’, ‘जीवन मन्त्र’, ‘वसन्त’, ‘आँसुओं की सियाही से’, ‘वक्त रुकता नही’ कृति प्रकाशित भइसकेका छन् ।