नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि तीन लाख सहयोग

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



झापा, २१ पुस । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार दिने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम प्रदान गरेको हो ।

नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरिन । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चार गृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुतनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि रकम प्रदान गरेको बताइन।

नारी सञ्चार गृह विसं २०६८ मा स्थापना भएको संस्था हो । यसले विगतदेखि पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । ५० बढी महिला आबद्ध रहेको संस्थाले विसं २०७५ मा अक्षयकोषको स्थापना गरेको थियो । तत्कालीन संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले रु १० हजार जम्मा गरी रु २५ लाख पु¥याउने लक्ष्यसहित सुरु गरेको अक्षयकोषमा विभिन्न सङ्घसंस्था, स्थानीय तहलगायतको सहयोग रहेको छ ।

अध्यक्ष शिवाकोटीले हाल संस्थाले राखेको लक्ष्य नजिक कोषको रकम पुगेको बताइन। उनले अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिला आफैँले पनि जन्मदिन, वर्षगाँठलगायत अवसर पारेर रकम जम्मा गरेको बताइन । उनले अक्षयकोष वृद्धिका लागि यसअघि कमल गाउँपालिकाले रु. ५० हजार, अर्जुनधारा नगरपालिकाले रु एक लाख ५० हजार नगद सहयोग गरेको बताइन।

संस्थाकी उपाध्यक्ष तथा कोषकी संयोजक रेजिना गौतमले कोष वृद्धिका लागि संस्थाले विगत तीन बर्षदेखि नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा देउसी खेल्दै आएको बताइन । उपाध्यक्ष गौतमले अक्षयकोष लक्ष्यको नजिक पुगेकाले चाँडै नै सोही रकमको ब्याजबाट रकम प्रदान गर्ने गरी ठूलै राशिको पुरस्कार स्थापनाको तयारी गरिरहेको बताइन।