दिल्लीमा ओमिक्रोन फैलिएपछि सुदूरपश्चिमा बढाइयो उच्च सतर्कता

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



बैतडी, २३ पुस । सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार मात्रै यस प्रदेशमा १२० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि साताको पहिलो दिन आइतबार पाँच, सोमबार २८, मंगलबार ४० र बुधबार ५५ जनामा कोरोना पुष्टि भएको थियो ।

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो । भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढिरहेकाले यहाँ पनि ‘ओमिक्रोन’को उच्च जोखिम रहेको जनाइएको छ । सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘जोखिम रोक्नका लागि सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ आएकालाई होम आइसोलेसन राख्ने गरिएको छ ।’

यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ । ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भने, ‘सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ ।’

यसका साथै ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । यस प्रदेशमा हालसम्म ५० प्रतिशत बढीले खोप पाइसकेका छन् । यसका साथै सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ ।

भारतसँग खुल्ला सीमा नाका भएका कारण संक्रमण नियन्त्रणमा केही चुनौती रहेको निर्देशनालयले जनाएको छ । विगतमा अवैध नाकाबाट भारतबाट मान्छे आउने गरेकाले जोखिम बढेकाले अब पनि अवैध नाकाबाट आउन नदिनु नै चुनौती हुने देखिएको छ । प्रदेशमा हालसम्म चार लाख ३५ हजार ७२५ जनाको कोरोना परीक्षण गरिएकामा ४८ हजार ५१९ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६१४ जनाको ज्यान गइसकेको छ ।

यस प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टीजेनमार्फत् पनि परीक्षण कार्य जारी छ । यहाँका सबै जिल्लामा गरेर ३९२ आइसोलेसन शय्या, १३४ एचडियु, १२६ कोभिड एचडीयू, ६३ आइसीयू, ४८ कोभिड आइसीयू शैय्या, ४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएका छन् ।

प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ । सरकारले सबैलाई खोप लगाउन पनि आग्रह गरेको छ ।