एक सातामा वाणिज्य बैंकहरुले गरे ५८ अर्ब निक्षेप संकलन, कर्जा लगानी ८ अर्ब बढ्यो

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । एक सातामा वाणिज्य बैंकहरुले ५९ अर्ब निक्षेप संकलन गरेका छन् । राष्ट्र बैंकले पुनर्कर्जा र सरकारले स्थानीय तहमा जाने पैसालाई ५० प्रतिशतबाट ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेपछि बैंकहरुले एक सातामै ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार यस अवधीमा वाणिज्य बैंकहरुले औसत सीडी रेसियोसमेत ८९.६८ प्रतिशतमा झारेका छन् । अहिले सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुले गत पुस १६ गते ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यसयता एक हप्तामै (पुस २३ सम्म) ५८ अर्ब निक्षेप बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको तथ्यांकले देखाएको छ ।

कर्जा लगानीमा पनि बैंकहरुले एक सातामा ९ अर्ब रुपैयाँ लगानी गरेका छन् । पुस १६ गते ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले पुस २३ गतेसम्म ९ अर्ब बढेर ४१ खर्ब ८ अर्ब कर्जा लगानी गरेको बैकर संघले जनाएको छ । पछिल्लो तीन साताको तथ्यांक हेर्ने हो भने पनि २३ दिनमा वाणिज्य बैंकहरुमा ७० अर्ब निक्षेप बढेको छ भने २३ अर्ब रुपैयाँ लगानी बढेको छ ।

मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ४० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । बैकर्स संघका अनुसार वाणिज्य बैंकहरुले विदेशी मुद्रामा गर्ने कर्जा प्रवाह भने एक सातामै ११ अर्ब रुपैयाँले घटेको छ ।

गत साता पुस १६ गते एक खर्ब २५ अर्ब रुपैयाँ विदेशी मुद्रामा कर्जा प्रवाह भएको थियो भने एक सातामा (पुस २३ गते) आइपुग्दा एक खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको भएको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।