कोभिड संक्रमण बढ्दै गएपछि ‘पोखरा महोत्सव-२०७८’ स्थगित

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



पोखरा २६ पुस । युनाइटेड क्लब पोखराको आयोजनामा हुने भनेको ‘पोखरा महोत्सव–२०७८’ स्थगित भएको छ । सोमबार एक विज्ञप्ति निकाल्दै आयोजकले एघारौं संस्करणको पोखरा महोत्सव अर्को सूचना नआउन्जेलका लागि स्थगित भएको जनाएको हो ।

आउँदो बुधबारदेखि माघ ९ गतेसम्मका आयोजना हुने भनिएको महोत्सव बढ्दो कोभिड संक्रमणका कारण स्थगित गरिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने हाम्रो क्लबको उद्देश्य रहेकोले जनस्वास्थ्यप्रति उत्तरदायी बहन गर्नु हाम्रो कर्तव्य हो । तसर्थ नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पालना गर्दै अर्को सूचना नआउन्जेल महोत्सव स्थगित गरिएको हो ।’

आयोजकले महोत्सवलाई सफल पार्न सहयोग गर्ने महोत्सवको मुख्य प्रायोजक, उपप्रायोजक, प्रायोजकलगायतका निकायलाई समय अनुकुल भएपछि महोत्सव सञ्चालन गर्न जनाएको छ । महोत्सवमा बुकिङ भइसकेका स्टलहरु पनि व्यवसायीलाई पनि कोभिडको कारणले स्थगित भएको र अर्को सूचनापछि सोही स्टल उपलब्ध गराउने जनाएको छ ।