राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम ढोका गएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

३००औं पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेकी हुन् ।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले पनि सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा अर्पण गरेको आयोजकले जनाएको छ । यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो ।

शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो । विसं १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेका थिए । विसं १८२६ मा काठमाडौं उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीं राजधानी स्थापना गरेका थिए ।