
काठमाडौं, २८ पुस । कैलालीको जानकी गाउँपालिका–७ का सीताराम चौधरीले पशु चौपाया लखेट्दै गाउँबाट जगतपुर जंगल पुगे । छाडा ती पशु चौपायाले हिउँले बाली नष्ट गर्न थालेपछि उनीलगायत स्थानीयबासी मिलेर पशुलाई जगतपुर जंंगलमा पुर्याएका हुन् ।
‘खेतमा लगाएको गहुँ बाली भर्खर खेतमा हरियो पर्न थालेको के थियो । बेवारिसे पशु चौपायाबाट बचाउनै मुस्किल भएको छ,’ उनले भने, ‘खेतमै बसोबास हुँदा पनि कतिबेला छक्याएर आउँछन् थाहै हुँदैन । के हिउँदमा के बर्खा खेती लगायो भने अन्य प्रकोपको भन्दा बढी चिन्ता पशु चौपायाका कारण हुने गरेको छ ।’
सोही ठाउँका सुमन चौधरीले दुई बिघामा लगाएको तरकारी तथा गहुँ खेतमा तारबार छैन । सडकसँग जोडिएको खेत भएकै कारण चौपायाले सबैभन्दा पहिला उनको खेत देख्ने गरेका छन् । ‘एक जनाको दैनिक काम नै चौपायाको गोठालो बस्नुपर्ने भएको छ । रात दिन खेती जोगाउनका लागि खेतमै बस्नुपर्दा पुसको चिसोमा निकै कष्ट हुने गरेको छ ।’ उनले भने, ‘अहिले त खेती लगाउने जाँगर पनि चल्दैन । खेती लगाएपछि छाडा पशु चौपायालाई ठिक्क हुन्छ । हूलमा देखिने चौपायाले एक दिनमै एक खेत नष्ट गर्छन् ।’
स्थानीयवासी रामकृष्ण विश्वकर्माका अनुसार स्थानीय सरकारले निर्वाचनका समयमा सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनको कार्ययोजनालाई प्रमुख बनाएका थिए । सो कार्ययोजना कार्यान्वयनमा आउन सकेको छैन । सामुदायिक चौपायाको त्रासले कैयौँ किसानहरूले खेती नै गर्न छोडिसकेको जनाउँदै यस्तै अवस्था रहे खेतीयोग्य जमिन पूरै बाँझो राख्नुपर्ने अवस्था आउने बताइएको छ ।
‘खेती नलगाएर के खाने भन्ने चिन्ता हुन्छ । लगायो भने चौपायालाई ठिक्क हुन्छ । लगानी पनि नआउने डर । के गर्ने के नगर्ने ? किसानहरू निकै अलमलमा परेका छन् । प्राकृतिक विपत्तिबाट खेती जोगाउनुभन्दा बढीको चिन्ता सामुदायिक पशु चौपायाबाट बचाउनु भएको छ ।’ छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गौशाला निर्माणसमेत गरेका छन् । वार्षिक १५ देखि २० लाख रुपैयाँभन्दा बढी सामुदायिक चौपाया व्यवस्थापनका लागि खर्च गर्दै आएको भए पनि यसको प्रभाव किसानहरूमा पर्न सकेको छैन ।
टीकापुर बजार क्षेत्रमा पनि सयौं छाडा चौपाया छन् । ती चौपायाकै कारण बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च छ । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनसँगै चौपायाको मलमूत्रबाट गोबर ग्यास उत्पादन गरी नागरिकहरुलाई वितरणको प्रक्रियासमेत सुरुआत गरेको छ । तर नगरपालिकाले चौपाया व्यवस्थापनका लागि जिम्मेवारी दिएका कर्मचारीको ध्याननदिँदा बजार क्षेत्रमा पशु चौपाया कम हुन नसकेको स्थानीय व्यापारी नन्दसिंह विश्वकर्मा बताउँछन् ।
अहिले अधिकांश स्थानीय बस्तीबाट छाडा चौपाया लखेट्दै जंगल पुर्याउने गरेको भए पनि यसको व्यवस्थापनमा स्थानीय तहले खटाएका कामदारहरुले चासो नदिएकै कारण पुनः तिनै पशु चौपाया गाउँ पुग्ने गरेको बताइएको छ । तिनै पशुले किसानको खेती नष्ट गर्ने गरेको स्थानीय किसानको गुनासो छ । स्थानीय नवराज बाब्लीले एक ठाउँबाट अर्को ठाउँ पुर्याउँदा चौपायाले यस ठाउँका किसानहरूलाई सास्ती गर्ने गरेको जनाउँदै एउटाले एक ठाउँ अर्कोले फेरि त्यही ठाउँ चौपाया धपाउने र दीर्घकालीन समाधानको बाटो नखोज्दा निकै समस्या भएको बताएका छन् ।
‘गौशाला निर्माण गरिएका छन् । चौपाया सबै समुदायमै देखिन्छन् । स्थानीय तहले लाखौँ बजेट खर्च गर्दै आएका छन् ।’ उनले भने, ‘दीर्घकालीन समाधान नखोज्ने हो भने अधिकांश किसानको खेत बाँझो हुनेछ । यसले परनिर्भरतासमेत बढाउने निश्चित छ ।’ छाडा चौपायालाई जंगलमा छोड्नका लागि गाउँमा बड्घरले नै स्थानीयवासीलाई परिचालन गर्ने गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



