ढुंगेधाराको कथा भगिरथ राजासँग जोडिएको छ : सत्यमोहन जोशी

-


     सफल आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित


भक्तपुर, २८ पुस । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शंखधर चोकमा निर्माण गरेको शंखधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् ।

उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराएका थिए । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्ने बारेमा जानकारी गराउँदै उनले गुरुयोजना, अब बन्ने शंखधर साख्वाःको सालिक, शंखलगायतका संरचनाका विषयमा बताए ।

शंखधर पार्कमा निर्माण भएका ढुंगेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुंगेधारासँग राजा भगिरथको कथासँग महादेव र गंगाको किस्सा जोडिएको बताए । उनले भने, ‘राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गंगा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।’

जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गरे । अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शंखधर पार्कको महत्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराए ।