नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारण सभा सम्पन्न, सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

-



     सफल आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बिहीबार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड रुपैयाँ खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि एक अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।