मादी गाउँपालिकाको गाउँसभा सम्पन्न, पाँचवटा विधेयक पारित

-



     सफल आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित



पोखरा, २९ पुस । मादी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा मादी गाउँपालिकाको क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन गाउँपालिका मातहत रहने व्यवस्था मिलाउन तथा गाउँपालिका मातहत नआउँदासम्म अन्नपूर्ण संरक्षण क्षेत्रका नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकालाई प्राप्त हुने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङका अनुसार गाउँसभाले मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक २०७८, मादी गाउँपालिकाको बालबालिकाको अधिकार संरक्षण सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७८, मादी गाउँपालिकाको स्थानीय भूमिसम्बन्धी विधेयक २०७८, मादी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, मादी गाउँपालिका कर्मचारी सेवा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक २०७८ गरी पाँचवटा विधेयक पारित गरेको छ ।

यस अवधीमा गाउँपालिकाको आम्दानी तर्फ २३ करोड ३९ लाख १४ हजार ६६ रुपैयाँ ९० पैसा रहेको छ । जसमा आन्तरिक आम्दानीतर्फ ७३ लाख २३ हजार ३९७ रुपैयाँ १३ पैसा, संघीय सरकार समानीकरण अनुदान चार करोड ५१ लाख ५० हजार, संघीय सरकार शसर्त अनुदान १३ करोड १८ लाख ५३ हजार, संघीय सरकार राजस्व वाँडफाँट तीन करोड ६० लाख ३२ हजार ३६४ रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदान ४९ लाख ६० हजार रहेको छ ।

प्रदेश सरकार समपूरक अनुदान २५ लाख, प्रदेश सर्शत अनुदान २५ लाख, प्रदेश सरकार राजस्व बाँडफाँट २७ लाख ६३ हजार ६७० र घरजग्गा रजिष्ट्रेशनको राजस्व बाँडफाँट प्राप्तबाट ८ लाख ३१ हजार १३५ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै सामाजिक सुरक्षा सात करोड ७३ लाख ८८ हजार ७१९ रुपैयाँ रहेको छ ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार खर्चतर्फ अहिलेसम्म गाउँपालिकाले १३ करोड ८६ लाख ९९ हजार ४०२ रुपैयाँ खर्च भएको छ । जसमा चालू खर्च तर्फ ११ करोड ३० लाख ६५ हजार १५७ रुपैयाँ रहेको छ । त्यस्तै पुँजीगत खर्चतर्फ दुई करोड ५६ लाख ३४ हजार २४४ रुपैयाँ रहेको छ भने समाजिक सुरक्षा खर्चतर्फ सात करोड ७३ लाख ८८ हजार ७१९ रुपैयाँ रहेको छ ।