पालुङखोला र तमोर-५ जलविद्युत आयोजनाको निर्माण गर्न सानिमासहित ६ बैंकले ८ अर्ब ३१ करोड लगानी गर्ने

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । पालुङखोला र तमोर-५ जलविद्युत आयोजनाको निर्माणमा सानिमा बैंकको नेतृत्वमा ६ बैंकले लगानी गर्ने भएका छन् । २१ मेगावाट क्षमताको पालुङखोला जलविद्युत आयोजना र ३७.५ मेगावाट क्षमताको तमोर-५ जलविद्युत आयोजनाको निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा नेपाल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, कुमारी बैंक र सिदार्थ बैंकले लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।

परियोजनाहरु पलुङखोला हाइड्रोपावर र रिभरसाइड हाइड्रोपावर प्रालिले विकास निर्माण गर्नेछ । परियोजनाका अध्यक्ष पुष्पज्याती ढुंगानाको अध्यक्षतामा अयोजित एक समारोहका बीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुभास नेम्बाङ र पूर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समयमा नै निर्माण सम्पन्नको लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उर्जाको खपत गर्ने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्दै शुभकामना व्यक्त गरे । ताप्लेजुङ जिल्लामा स्थित तमोर-५ जलविद्युत आयोजनामा ६ अर्ब ९१ करोड र पालुंगखोला जलविद्युत आयोजनामा तीन अर्ब ८२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

बैंकको संयुक्त लगानी ८ अर्ब ३१ करोड र लगानीकर्ताको सेयर पुँजी २ अर्ब ७० करोड रहने परियोजनाका महाप्रबन्धक सिए प्रकृतिराज तिमल्सिनाले जानकारी दिए ।

लगानीकर्ता बैंकहरुको तर्फबाट सानिमा बैंकका नायब कार्यकारी प्रमुख निश्चलराज पाण्डे र परियोजनका अध्यक्ष पुष्पज्योती ढुंगानाले हस्ताक्षर भएको ऋण सम्झौतामा आदान प्रदान गरेका थिए ।

१ मोगावाटको पातीखोला हाइड्रोबाट आफ्नो यात्रा सुरु गरेका ढुंगानाले १४.९ मेगावाटको पाँचथर पावर सम्पन्न गरेका छन् भने ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजना सम्पन्नको चरणमा रहेको छ र २५५ मेगावाटको माथिल्लो तमोर अगाडि बढाउने तयारी रहेको बताइएकाे छ ।