नबिल बैंककाे ३८ प्रतिशत लाभांश पारित , अध्यक्षमा पुन: उपेन्द्र पौडेल चयन

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । नबिल बैंक लिमिटेडले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएकाे छ। बैंकको शुक्रबार सम्पन्न् ३७ औं वार्षिक साधारणसभाले ३३.६० प्रतिशत बोनस शेयर तथा ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५३ करोड रुपैयाँ मुनाफा हासिल गरेको थियाे। मुनाफाबाट प्रस्तावित बोनस शेयरपछि बैंकको पुँजी १८ अर्ब ४९ करोड पुगेको बैंकले जनाएको छ।

सभामा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले न्यून कार्बन अर्थतन्त्र, दीगो तथा समतामूलक भविष्यको लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ र क्लाइमेट चेन्ज फाइनान्सिङमा बैक थप लगानी गर्न प्रतिबद्ध रहेको बताएका थिए। 

सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई संचालक समेत चयन गरेको छ। साधारण सभाले उदयकृष्ण उपाध्याय र एनबी ईन्टरनेशनललाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्बिरोध निर्वाचित गरेको बताएको छ। बैंक संचालक समितिको ५८८ औं बैठकले संचालक समितिको अध्यक्षमा पुन: उपेन्द्र प्रसाद पौडेललाई नै चयन गरेको छ।

बैंकले एकसय ३५ वटा शाखाहरु, एकसय ८७ वटा एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभरका एजेन्टहरु मार्फत बितिय सेवा प्रदान गरिरहेकाे बताएकाे छ ।