वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित


बालुवाटारमा बसेकाे सत्तारूढ दलहरूकाे समन्वय समितिकाे बैठक


काठमाडौं, ४ माघ । स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन बैशाखमा गर्नका लागि सहमत भएको छ । गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीय निर्वाचनबारे छलफल गरेको हो ।

बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल समितिमा सदस्य छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । तर, दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहससमेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको बताइएको छ ।