विकास बैंकहरुको नाफा साढे २ अर्ब नाघ्यो, सबैभन्दा बढी कमाउनेमा मुक्तिनाथ विकास बैंक

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा विकास बैंकहरुले साढे २ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिना (मंसिरसम्म) विकास बैंकहरुको नाफा २ अर्ब ५४ करोड १७ लाख रुपैयाँ पुगेको छ । १७ वटा विकास बैंकहरुमध्ये ५ बैंक भने घाटामा गएका छन् ।

नाफा कमाउने १२ वटा विकास बैंकहरुमध्ये सबैभन्दा बढी आर्जन बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक परेको छ । याे बैंकले पाँच महिनाको अवधीमा ४६ करोड १२ लाख खुद नाफा कमाएको छ ।

मुक्तिनाथपछि बढी नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक परेको छ। गरिमाले चालू आवको पहिलो ५ महिना मंसिरसम्म ३४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै ज्योति विकास बैंकले ३३ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

पाँचौं नम्बरमा बढी नाफा आर्जन बैंकको सूचीमा महालक्ष्मी विकास बैंक रहेको छ । सो बैंकले यस अवधीमा ३१ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ भने कामना सेवा विकास बैंकको ३० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । राष्ट्र बैंकका अनुसार शाइन रेसुंगा विकास बैंकले चालू आवको पहिलो पाँच महिनामा २७ करोड ६५ लाख रुपैयाँ कमाएको छ भने लुम्बिनी विकास बैंकले २४ करोड ७९ लाख नाफा आर्जन गरेको छ । त्यस्तै सांग्रिला विकास बैंकको नाफा यस अवधीमा १४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

५ करोडभन्दा कम नाफा आर्जन गर्ने बैंकहरु

चालू आवको पहिलो पाँच महिनामा ४ वटा विकास बैंकहरुले ५ करोड रुपैयाँभन्दा कम नाफा आर्जन गरेका छन् । जसमा मितेरी बैंकले ४ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एक्सेल विकास बैंकले दुई करोड ९८ लाख रुपैयाँ, कर्णाली विकास बैंकले दुई करोड ९७ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ भने ग्रिन विकास बैंकले ८८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

घाटामा जाने बैंकहरु

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म पाँच वटा विकास बैंकहरु घाटामा गएका छन् । घाटामा जाने बैंकमा कर्पोरेट विकास बैंकको अघिल्लो महिना कार्तिकको तुलनामा ५ लाख २० हजार रुपैयाँ माइनसमा गएको हो ।

यस अवधीमा सिन्धु विकास बैंक पनि घाटामा गएको छ । सो बैंकको अघिल्लो महिनाको तुलनामा ९ लाख २० हजार रुपैयाँ खुद घाटामा गएको हो । त्यस्तै सालपा विकास बैंक १९ लाख २० हजार घाटामा गएको छ भने नारायणी विकास बैंकको ४४ लाख २० हजार रुपैयाँ खुद घाटामा गएको हो ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा घाटामा गएकोमा सप्तकोशी विकास बैंक छ । अघिल्लो महिनाको तुलनामा मंसिरमा सप्तकोशीको खुद घाटा १० करोड ६ लाख रुपैयाँमा झरेको छ ।