काठमाडौं, ९ माघ । मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुर्याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन पनि दिएकाे थियाे । कम्तिमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पुर्याउने सरकारी लक्ष्य ०७४ असार मसान्तसम्म मात्रै थियो । तर, तोकिएको मितिसम्म २९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगे ।
राष्ट्र बैंकले दिएको निर्देशनपछि पनि साढे ४ वर्ष बितिसक्यो । तर ३ स्थानीय तह भने अझै बैंकबिहीन छन् । धादिङको रुवीभ्याली, जाजरकोटको जुनिचाँदे र बझाङको साइपाल गाउँपालिकामा अहिलेसम्म पनि बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । लामो समयसम्म बैंक नभएका स्थानीय तहको सूचीमा गत वर्षसम्म ६ पालिका थिए । ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा बैंकका शाखाहरु सञ्चालन भएपछि भने अब ३ पालिका मात्रै बैंकबिहीन भएका छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार अहिलेसम्म ७५० स्थानीय तहहरु वाणिज्य बैंकको पहुँचमा पुगेका छन् । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंकहरु पुर्याउनुपर्ने निर्णयअनुसार अहिलेसम्म ७५० स्थानीय तहमा बैंकका शाखाहरु पुगेका छन् । तीन स्थानीय तहमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाई भएको हो ।’
प्रवक्ता भट्टका अनुसार बाँकी रहेका स्थानीय तहमा भने बैंक पुग्न अझै समय लाग्ने देखिन्छ । पक्की भवनहरु तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको उनले बताए । तथ्यांकअनुसार अहिलेसम्म २७ वटा वाणिज्य बैंकका करिब ५ हजार शाखा सञ्जाल छन् । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमै छन् । १८ विकास बैंकहरूका पनि मुलुकभर १ हजारभन्दा बढी शाखा सञ्चालनमा रहेका छन् । १७ वटा वित्त कम्पनीहरूको २६४ वटा शाखा सञ्जालहरु रहेका छन् ।
यसरी समग्रमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल ११ हजारको हाराहारीमा छ । तर, दुर्गमका तीन स्थानीय तहहरु भने वर्षौं बित्दा पनि बैंकबिहीन भएका छन् । बैंकिङ पहुँचमा नहुँदा धेरै सास्ती खेप्नुपरेको उनीहरुको गुनासो छ ।
गणेश हिमालको फेदीमा रुवीभ्याली
धादिङको रुवीभ्याली गाउँपालिका गणेश हिमालको फेदीमा छ । गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिकाको सबै कारोबार जिल्ला सदरमुकाम धादिङबेंसीबाटै हुने गर्छ । ‘गाउँमा सडक सञ्जाल जोडिएको छैन,’ गाउँपालिका अध्यक्ष चेरुङ तामाङ भन्छन्, ‘गाउँपालिकामा सडक जोडिन अझै पाँच/सात किलोमिटर ट्र्याक खुल्न बाँकी छ । यसैलाई कारण देखाएर बैंकले पनि आउन मानेको छैन ।’
अध्यक्ष तामाङका अनुसार अहिले रुवीभ्यालीमा पक्की भवनसमेत छैन । बैंकिङ कारोबारकै लागि सदरमुकाम जान एक दिन बास बस्नुपर्छ । ‘अहिलेको यो सिजनमा त एक दिनमा पनि पुगिन्न । हिउँदमा हिड्नै कठिन र वर्षायाममा खोला तर्नै कठिन भएको हुँदा बैंकले पनि आउन नमानेको हुनुपर्छ ।’
रुवीभ्यालीमा शाखा सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डुलाई निर्देशन दिएको छ । अध्यक्ष तामाङले भने, ‘बैंकको शाखा सञ्चालनका लागि पटक–पटक बैंक अफ काठमाण्डुले अनुगमन गरेको हो । तर, सुरक्षित ठाउँ नभेटिएको भन्दै शाखा सञ्चालन गर्न आँट गरेन ।’ अब आउँदो बैशाखसम्ममा सडकको ट्र्याक खुलाइसक्ने र बैंकको शाखा पनि सञ्चालन गर्ने गाउँपालिकाको तयारी रहेको उनले बताए ।
रुवीभ्यालीको जस्तै समस्या जाजरकोटको जुनिचाँदे गाउँपालिकामा पनि छ । जिल्ला सदरमुकामबाट धेरै टाढा रहेको जुनिचाँदे गाउँपालिकामा त केन्द्र नै कहाँ राख्ने विषयमा विवाद भइरहेको छ । अहिले गाउँपालिकामा बैंक तथा वित्तीय कारोबारका लागि घण्टौं हिडेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ । राष्ट्र बैंकका अनुसार सडक सञ्चाल तथा पक्की भवन नहुँदा वाणिज्य बैंकहरुले शाखा सञ्चालन गर्न सकेका छैनन् ।
साइपालबाट बैंक पुग्न ३ दिन पैदलयात्रा
क्षेत्रफलका हिसाबले साविकको मुलुककै ठूलो गाविस हो काँडा । अहिले काँडा ‘साइपाल’ गाउँपालिका भएको छ । साइपाल मुलुककै दुर्गममध्ये एक क्षेत्र हो । उत्तरी ताक्लाकोट नाका पुग्न र जिल्ला सदरमुकाम पुग्न झण्डै तीन दिन पैदल यात्रा गर्नुपर्छ ।
मुलुक संघीयतामा गइसकेपछि भने साइपालले केही राहतको सास फेरेको छ । अँध्यारो साइपालको रुपमा चित्रण गरिएको साइपालमा अहिले केही स्थायित्व कायम भएको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामी बताउँछन् । ‘स्थानीयहरु विद्यालय तथा स्वास्थ्य संस्थाको पहुँचमा पुगेका छन् । विकासका अन्य पूर्वाधार पुगेपनि बैंक तथा वित्तीय संस्थाहरुलाई भने हामी नै सुरक्षा दिन नसक्ने अवस्थामा छौं,’ अध्यक्ष धामीले भने, ‘साइपालमा अन्य विकासमा भने खटिरहेका छौं । तर, बैंक तथा वित्तीय संस्थाका लागि भने सडक हुनु अनिवार्य जस्तै रहेछ । साइपालमा सडकबारे हामी नै अन्यौलमा छौं ।’
अध्यक्ष धामीका अनुसार साइपालबाट जिल्ला सदरमुकाम पुग्न तीन दिन पैदल यात्रा गर्नुपर्छ । साइपाल जाने बाटोमा चट्टानै चट्टान भएको हुँदा सडक बनाउन पनि वर्षौं लाग्ने उनले बताए । ‘यो ठाउँमा बजेट भएर मात्रै हुँदैन । मेसिनरी औजारसहितको जनशक्ति पनि आवश्यक छ ।’ उनले भने, ‘चिसो ठाउँमा सडकका लागि ट्र्याक खोल्नै समय लाग्ने देखिन्छ । दर्जनौं पुलहरु बनाउनुपर्ने देखिन्छ ।’
जिल्ला सदरमुकामबाट धेरै टाढा भएको यस क्षेत्रमा बीचमा कतै–कतै ट्रयाक पनि खोलिएको उनले बताए । साइपालमा पक्की भवन तथा फोन इन्टरनेटको समेत समस्या भएकोले बैंक तथा वित्तीय संस्थाहरु नआएको उनले बताए । फोन सेवाका लागि भने नेपाल टेलिकमसँग समन्वय गरी टावरहरु बनाउन लागेको उनले बताए ।
यता ०७४ सालमा जारी राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘संघीय संरचनाअनुसार तय भएका ७५३ स्थानीय तहमध्ये ०७४ असार मसान्तसम्म वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य रूपले शाखा खोल्नुपर्नेछ । विकास बैंकहरूले वाणिज्य बैंक र विकास बैंक दुवै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्नेछन् ।’ तर, राष्ट्र बैंककै तथ्यांकअनुसार भने अघिल्लो वर्षसम्म पनि दर्जनभन्दा बढी स्थानीय तहहरु बैंकबिहीन थिए । अहिले ३ पालिकाहरु बैंकबिहीन छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



