नेपाली उत्पादनकाे निर्यात ९५.४८ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ११ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । व्यापारमा निर्यातसँगै आयातको ग्राफ पनि उकालो लागेको भन्सार विभागले जनाएको छ ।

तथ्यांकअनुसार चालू आवको पहिलो ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात हुँदा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार ५४.८६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

गत आवको पहिलो ६ महिनामा ७ खर्ब २२ अर्ब ४ करोड ४६ लाख रुपैयाँको वैदेशिक व्यापार हुँदा चालू आवको सोही अवधीमा ५४.४६ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब १९ करोड ३६ लाख पुगेको हो ।

भन्सार विभागका अनुसार १ वर्षको अवधीमा नेपाली उत्पादन निर्यातमा ९५.४८ प्रतिशतले बढेको छ । गत आवको पहिलो ६ महिनामा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँको निर्यात भएको थियो भने चालू आवको सोही अवधीमा ९५.४८ प्रतिशत निर्यात बढेर १ खर्ब १८ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।

आयात पनि गत वर्षको भन्दा ५१ प्रतिशतले बढेको छ । गत आवको पहिलो ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँको आयात हुँदा चालू आवको सोही अवधीमा ५१.१३ प्रतिशतले बढेर ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँ पुगेको थियो ।

१४१ मुलुकबाट विदेशी उत्पादन आयात

नेपालमा १४१ मुलुकबाट विदेशी वस्तु आयात भएको छ । चालू आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार १४१ मुलुकबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बारबरको विदेशी वस्तुको आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ भने दोस्रोमा चीनबाट बढी आयात भएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए ।

उनका अनुसार भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाख रुपैयाँको वस्तु आयात भएको छ भने चीनबाट १ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात भएको हो ।