क्रिप्टो करेन्सी लगायतका नेटवर्क मार्केटिङ अबैध भएकाे राष्ट्र बैंकको ठहर, कारोबार गर्नेलाई कडा कारबाही गरिने

-



     सफल आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं ९ माघ । नेपाल राष्ट्र बैंकले गैरकानुनी क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङमा कारोबार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ अबैध भएको भन्दै कारोबार नगर्न आग्रह गरेको हो ।

आइतबार विज्ञप्ति निकाल्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सीजस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सर्वसाधारणलाई फसाउने गरिएको भन्ने सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्र बैंकले छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प्रयोग गर्न, हाइपर फन्डजस्ता कोषमा लगानी गर्ने तथा लगानी गर्न प्रेरित गर्नेलाई कारबाही गर्ने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिम गैरकानुनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले पैसा बाहिरी स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिनेछ ।’