एशियन लाईफका सेयरधनीहरुलाई लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ माघ । एशियन लाइफ इन्स्योरेन्सका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १३औं वार्षिक साधारण सभाको प्रयोजन तथा लाभांश वितरणका लागि माघ १२ गते बुक क्लोज गरेको जनाएको छ ।

यसका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरेको हुनुपर्छ । आजसम्म कायम भएका सेयरधनीहरुले इन्स्योरेन्सको संचालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश पाउन योग्य र साधारण सभामा भाग लिन पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष ०७६, ०७७ को संचित नाफाबाट २७ प्रतिशत लाभांश वितरण गर्नेछ । यसमा २५ प्रतिशत बोनस सेयर तथा करको प्रयोजनार्थ २ प्रतिशत नगद लाभांशसहित २७ प्रतिशत रहेको छ ।

लाभांश पारित गर्नका लागि इन्स्योरेन्सको साधारण सभा माघ २१ गते होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बीरगन्जमा बोलाईएको छ । सभा पूर्वान्ह साढे ११ वजे बोलाईएको छ ।

सभाबाट प्रबन्धपत्र, नियमावली संशोधनको अख्तियारी संचालक समितिलाई दिने, ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलको सामूहिक लगानी कोषका लागि स्वीकृति लिने र त्यसको कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई पारित गरिने भएको छ ।