नेपाली बजारमा भारतीय तरकारीको एकाधिकार कायमै, नेपाली किसान सधैं मारमा

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ माघ । गत जेठमा रुपन्देहीका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै सडकमा फाले । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको सैनामैना तथा शुद्धोधन गाउँपालिकामा उत्पादन भएको तरकारीले सहजै बजार नपाएपछि किसानहरु आन्दोलित हुँदै सबै निकायलाई देखाउन तरकारी हुत्याएका थिए । रुपन्देहीका किसान मात्रै होइनन्, गत फागुनमा कृषिमन्त्रीलाई देखाउने भन्दै पश्चिम नवलपरासीका किसानले गोलभेंडा सडकमा फाले । उनीहरुले नेपाली कृषि उत्पादनले बजार नपाएको भन्दै गोलभेंडा फालेर प्रदर्शन गरेका थिए । त्यो बेलामा कृषकहरुको एउटै गुनासो थियो – आफूले उत्पादन गरेको तरकारीले पनि बजार पाउनुपर्छ ।

OOO

गत हप्ता मात्रै एक जना कृषकले आफूले उत्पादन गरेको मुलाले बजार नपाएको भन्दै गाईलाई कुँडो पकाउन तयार पारेको फोटो सामाजिक सञ्जालमा राखे । तस्बिरसँगै लेखेका थिए, ‘सरकारले कृषि क्रान्ति गर्ने भनेर मजस्ता युवालाई उक्सायो । विदेशमा राम्रो कमाई छोडेर नेपाल आएँ । तरकारी खेती सुरु गरेँ । अन्तिममा उत्पादित तरकारीको मूल्य पनि मापन भएन । आयातित तरकारीको मूल्यभन्दा सस्तो दिँदा पनि बजार पाइएन ’ भन्दै गुनासो पोखेका थिए ।

यी प्रतिनिधि घटना मात्रै हुन् । भारतीय तरकारीले नेपाली बजार कब्जा गर्नाले नेपाली उत्पादनले बजार नपाउनु, बजार पाइहालेमा पनि उचित मूल्य नपाउनु भनेको मुलुकका लागि निर्विकल्प उद्यमीहरु विस्थापित हुनु हो । विदेशबाट आउने आयातको ग्राफ हेर्दा महिनैपिच्छे अर्बौं मूल्य बराबरको आयात हुने गर्छ । आयातको तुलनामा लाखौं गुणा कम निर्यात गर्ने नेपाल तरकारी निर्यातमा त झनै साँघुरिएको छ ।

भन्सार विभागको तथ्यांक हेर्दा ५ वर्षको अवधीमा झण्डै दोब्बरभन्दा बढी मूल्यको तरकारी आयात हुने गरेको देखिन्छ । आर्थिक वर्ष ०७४/७५को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड ७९ लाख १७ हजार रुपैयाँको तरकारी आयात गरेको नेपालले चालू आवको पहिलो ६ महिनामै २२ अर्ब ५१ करोड ५८ लाख ७१ हजार रुपैयाँको तरकारी आयात गरेको छ ।

तथ्यांकअनुसार आव ०७६/७७ को सोही अवधीमा १६ अर्ब ४ करोड १ लाख ८ हजार, आव ०७७/७८ को पहिलो ६ महिनामा १९ अर्ब २२ करोड ३९ लाख ९२ हजार र गत आव ०७७/७८ को सोही अवधीमा १९ अर्ब २२ करोड ३९ लाख ९२ हजार रुपैयाँको तरकारी आयात भएको थियो । यसरी हेर्दा वर्षेनी आयातको ग्राफ ‘दिन दो गुणा, रात चौगुणा’ भने जस्तै तरकारीको आयात खरायो गतिमा अघि बढेको देखिन्छ ।

भन्सार विभागका प्रवक्ता पुण्डविक्रम खड्काका अनुसार ५ वर्षका पहिलो ६ महिनामा मात्रै तरकारी आयातले ७७ अर्बभन्दा बढी नेपाललाई घाटा भइसकेको छ । चालू आवको पहिलो ६ महिनामा मात्रै २२ अर्ब बराबर तरकारीमा व्यापार घाटा भएको उनले बताए । तथ्यांकअनुसार आव ०७४/७५ मा १० अर्ब ८० करोड २२ लाख, ०७५/७६ मा १३ अर्ब ९० करोड ३ लाख ५५ हजार, ०७६७७ मा १५ अर्ब १० करोड ३० लाख ८१ हजार र गत आवको पहिलो ६ महिनामा तरकारीमा व्यापार घाटा १८ अर्ब ८६ करोड ५२ लाख ८३ हजार पुगेको थियो ।

निर्यात पुनः उकालोमा

तरकारी आयातको तुलनामा निर्यात अगन्य अवस्थामा भए पनि चालू आवमा भने केही खुट्किलो उक्लेको देखिन्छ । ५ वर्षको तथ्यांक हेर्दा गत वर्षमा झण्डै ६० अर्ब माइनसमा गएको थियो । आर्थिक वर्ष ०७४/७५ को पहिलो ६ महिनामा ५६ करोड ५६ लाख ५९ हजार, ०७५/७६ मा ८७ करोड १७ लाख २७ हजार, ०७५/७६ मा ८७ करोड १७ लाख २७ हजार, ०७६/७७ मा ९३ करोड ७० लाख २७ हजार रुपैयाँको नेपाली तरकारी भारत तथा अन्य मुलुकमा निर्यात भएको प्रवक्ता खड्काले बताए ।

गत आर्थिक वर्ष ०७७/७८ को पहिलो ६ महिनामा त निर्यातको अवस्था साँघुरिएर ३५ करोड ८७ लाख रुपैयाँको मात्रै बाहिर गएको देखिन्छ । चालू आवमा भने निर्यातको अवस्था सुधार भएको छ । चालू आवको पहिलो ६ महिनामा नेपाली उत्पादन तरकारी ५२ करोड १५ लाख बराबरको बाहिर गएको छ ।

राजस्व वृद्धि

व्यापारीले वस्तु आयात निर्यात गर्दा अनिवार्य रुपमा राजस्व तिर्नुपर्ने भएपछि राजस्व संकलन भने वृद्धि हुँदै गएको छ । भन्सार विभागका प्रवक्ता खड्काका अनुसार आर्थिक वर्ष ०७५/७६ को पहिलो ६ महिनामा १ अर्ब १३ करोड १६ लाख ३० हजार, ०७६/७७ को सोही अवधीमा १ अर्ब ४५ करोड ४९ लाख, ०७७/७८ मा २ अर्ब ६ करोड ६ लाख ६० हजार र चालू आव ०७८/७९ को पहिलो ६ महिनामा सरकारले २ अर्ब ४२ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

माघीमै लाखौंको कन्दमुल आयात

नेपालमा उत्पादनमात्रै होइन, प्रकृतिले समेत प्रयाप्त मात्रामा दिएको कन्दमुल पनि नेपालीले निकाल्न नसकेकेर विदेशबाट किन्न थालेका छन् । नेपालीहरुको विशिष्ट पर्व माघेसंक्रान्तिमै लाखौं मूल्यको कन्दमुल आयात गरिएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका निर्देशक बिनय श्रेष्ठले बताए ।

समितिको १ माघसम्मको तथ्यांकअनुसार माघीका लागि सखरखण्ड, तरुल तथा पिँडालु मात्रै २८ लाख १ हजार ३९० रुपैयाँको कन्दमुल आयात भएको छ । निर्देशक श्रेष्ठले माघेसंक्रान्तिका लागि १० प्रतिशत तरुल भारतबाट आयात भएको बताए । सफल आवाजसँग कुरा गर्दै श्रेष्ठले भने, ‘तरुलमा आत्मनिर्भर नभए पनि माघीलाई पुग्ने तरुल स्वदेशकै उत्पादन थियो । तर, व्यापारीले व्यापार गर्न भारतबाट आयात गर्ने पिँडालु, तरुल, सखरखण्ड लाखौंको भित्र्यायो ।’ उनका अनुसार गत वर्ष माघेसंक्रान्तिमा भारतबाट तरुल खासै आयात भएको थिएन । यो वर्ष भने १० प्रतिशत आयात भएको छ ।