धौलागिरी लघुवित्तको आइपीओ आउँदै, विक्री प्रवन्धकमा सनराइज क्यापिटल नियुक्त

-



     सफल आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ माघ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङले ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ बीच सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा बुधबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । वित्तीय संस्थाले वि.स. २०७८ पुष मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत् कुल १९१ जना कर्मचारी परिचालन गरि ३४ हजार ४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रुपैयाँ रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्काशन भए पश्चात् १० करोड रुपैयाँ चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल १० करोड ३८ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा २ करोड ६० लाख रहेकोमा पुष मसान्तसम्म आइपुग्दा उक्त वितरणयोग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को मसान्तमा प्रतिसेयर आम्दानी ५०.१२ भन्दा बढी कायम गरेकोमा पुष मसान्तसम्ममा आइपुग्दा ६१.४५ प्रतिसेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिएका छन ।