अवैध च्याऊ आयातमा रोक लगाउन माग गर्दै च्याऊ उत्पादक संघ

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतलगायत विभिन्न देशबाट भित्रिरहेको च्याउ रोक लगाउन माग गरेको छ । लामो समयससम्म पनि सड्न नदिने गरी क्यामिकल प्रयोग गरेर बजारमा ल्याएको च्याउ रोक्न माग गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना कहरका बीचमा नेपाली च्याउलाई विस्तापित गर्ने उद्देश्यले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ । च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो । लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ । यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भइ सेवनयोग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न माग गर्दछौं ।’

संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले विश्व बजारमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको बेलामा च्याऊ नबढेको बताए । ‘हामीले घाटा फाइदाको सरोकार नराखी कर्मचारीहरूलाई रोजगार दिएर उद्योग टेकाउन चाहेका छौं,’ उनले भने, ‘प्रर्याप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको च्याऊ हाम्रो बजारमा मूल्य गिरावटको अवस्थामा चलिरहेको छ । यो मुलुकका लागि पनि सुखद पक्ष होइन ।’