झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा झर्‍यो

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । साताको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेको छ । लगातार ओरालो लागेको नेप्से सूचक बिहीबार भने झिनो अंकले उकालो लागेको हो । सेयर कारोबार मापक नेप्से सूचक ३.२९ अंकले बढेर २ हजार ७७९.९३ अंकमा प्रवेश गरेको छ । सेन्सेटिभ इन्डेक्स पनि आज ०.३८ अंकले बढेर ५१८.७२ मा प्रवेश गरेको हो ।

नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको छ । लगातार ओरालो लागेको कारोबार रकम आज ३ अर्बमा झरेको हो । २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ लाख ६८६ रुपैयाँमा किनबेच भएको छ । बुधबार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा किनबेच भएको थियो ।

आज पनि विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । आज विन नेपालको सेयर मूल्य १२१.६० अंकले बढेर प्रतिकित्ता १ हजार ३३८.२० रुपैयाँमा पुगेर कारोबार रोकिएको छ भने बुद्धभूमिको ४६.३० अंकले बढेर ५०९.५० रुपैयाँ प्रतिकित्ता पुगेर रोकिएको छ ।

आज सबैभन्दा बढी सप्तकोशी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । सप्तकोशीको सेयर आज ४ प्रतिशतभन्दा बढी प्रतिशतले घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी सबैको सेयर ओरालो लागेको छ ।