५ क्यासिनोलाई ८७ करोड १५ लाख रुपैयाँ बक्यौता बुझाउन ७ दिने अल्टिमेटम

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने ५ क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन ७ दिने अल्टिमेटम दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले ७ कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७/७८ सम्मको बाँकी बक्यौता बुझाउन ७ दिनको म्याद दिएको हो । ५ कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका २ कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका ३ कम्पनी छन् ।

पर्यटन विभागले आज सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागका अनुसार बक्यौता नबुझाउने क्यासिनो इजाजतपत्र लिएको कम्पनी होटेल याक एन्ड यति प्रालिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ र ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटेल) ले १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ ।

क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ ।