दूधजन्य पदार्थ : कागजमा मात्रै आत्मनिर्भर, तथ्यांकमा आयातै आयात

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । गएको चैत १२ गते ललितपुरको जावलाखेलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक तामझामपूर्ण कार्यक्रममा नेपाल दूध तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरे । घोषणा कार्यक्रममा सरकारी लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न टेवा पुर्‍याएको भन्दै वक्ताहरुले समेत सरकारको प्रशंसा गरेका थिए ।

तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले त डिग्री, पीएचडी गरेका विद्वानभन्दा प्रधानमन्त्रीको दृढ संकल्प विकासको आधार भएको ठोकुवा गरिन् । उनले प्रधानमन्त्रीको दृढ योजना नै मुलुकलाई आवश्यक रहेको र दूधजन्य पदार्थमा आत्मनिर्भर हुनु सरकारको सफलता भएको दाबी गरिन् । त्यसबेला मन्त्री अर्यालको दाबीअनुसार नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको र ५ वर्षभित्र प्रमुख खाद्यवस्तुहरुमा पनि आत्मनिर्भर हुन्छ भन्ने थियो ।

तत्कालिन कृषि सचिव डा. प्रेमनारायण कँडेलले पनि उत्पादन बढाएको र पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरेका थिए । तर, सचिव कँडेलले भनेजस्तै आयातको ग्राफ शून्यमा झरेको भने थिएन । गत चैतमा आत्मनिर्भर भएको घोषणा गरेको सरकारले सोही महिना मात्रै करोडौं मूल्य बराबरको दूध तथा पशुपन्छीजन्य उत्पादन आयात गरेको थियो । त्यसपछिका महिनाहरुमा लगातार आयात बढिरह्यो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै नेपालमा दूधजन्य पदार्थ १ अर्ब ७ करोड ५७ लाख ७८ हजार रुपैयाँको आयात भएको छ । भन्सार विभागको तथ्यांक हेर्दा आयातको तुलनामा निर्यात भने सयौं गुणा कम भएको छ । भन्सार विभागका प्रवक्ता पुण्डविक्रम खड्काले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ३५ लाख ८० हजार रूपैयाँको दूधजन्य वस्तु बाहिरिएको छ । यस अवधीमा मात्रै दूधजन्य पदार्थमा १ अर्ब ४ करोड २१ लाख ९८ हजार रूपैयाँ व्यापार घाटा भएको देखिन्छ ।

गत वर्षको तथ्यांक हेर्दा पनि निर्यातको तुलनामा आयातको बिन्दु धेरै माथि थियो । गत वर्षको पहिलो ६ महिनामा ९९ करोड ६४ लाख ८२ हजार रुपैयाँको दूधजन्य पदार्थ आयात हुँदा ६ करोड ११ लाख ५७ हजार रुपैयाँको मात्रै नेपाली उत्पादन बाहिर गएको थियो । तथ्यांकअनुसार सोही अवधीमा मात्रै व्यापार घाटा ९३ करोड ५३ लाख २५ हजार रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा वर्षभरिमा १ अर्ब ६ करोड ३२ लाख ३९ हजार रुपैयाँ बराबरको दूध तथा मासुजन्य पदार्थ आयात भएको थियो । विभागको तथ्यांकअनुसार १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको दूधजन्य पदार्थ आयात भएको थियो भने १ अर्ब ९९ करोड ५० लाख ४० हजार रुपैयाँको अण्डा लगायतका वस्तुहरु आयात भएको थियो । जबकी सरकारले नै नेपालमा प्रर्याप्त उत्पादन भएर आत्मनिर्भर भएको घोषणा गरिसकेको थियो । सरकारले आत्मनिर्भर घोषणा गरेका दूध, बटर, मासु र अण्डाजन्य वस्तु करोडौं मूल्यको आयात भएको विभागका प्रवक्ता खड्काले बताए ।

नेपालमा कति हुन्छ पशुपन्छीजन्य उत्पादन ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रकाशकुमार सञ्जेलले पनि धुलो दूध, बटर, मासु (भैंसीबाहेक) र अण्डा आयात शून्यमा झरेको दाबी गरे । उनका अनुसार नेपालमा धुलो दूधको आवश्यकता ३ हजार मेट्रिक टन मात्र रहेको छ । तर, उत्पादन ३ हजार ४ सय मेट्रिक टन भइरहेको छ । बटर (घ्यू) १२ सय मेट्रिक टन उत्पादन हुन्छ ।

मासु ४ लाख ५० हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यसमध्ये पनि ४६ प्रतिशत कुखुराको मासु रहेको छ । वार्षिक ३३ लाख खसी/बोकाको मासु नेपालमा खपत हुन्छ भने दैनिक १० लाख केजी कुखुराको मासु खपत हुन्छ । ‘नेपालमा चाहिनेभन्दा बढी आयात उत्पादन भएपछि आत्मनिर्भर घोषणा गरिएको हो,’ प्रवक्ता सञ्जेलले भने । उनका अनुसार प्रति नेपालीलाई आवश्यक पर्ने दूध तथा माछा मासुजन्य वस्तुभन्दा धेरै उत्पादन भइरहेको छ । उनले भने, ‘तर, नेपालीहरुले शरीरलाई चाहिनेभन्दा बढी माछा/मासु तथा दूध खान्छन् र आयात हुन्छ ।’

प्रवक्ता सञ्जेलका अनुसार नेपालमा १ अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । त्यसमध्ये प्रतिव्यक्ति वार्षिक रूपमा न्युनतम ४८ वटा अण्डा खानुपर्छ । नेपालमा भने प्रतिव्यक्ति ५४ वटा अण्डा उत्पादन भइरहेको छ । उनले आवश्यकताभन्दा बढी उत्पादन भइरहेको हुँदा आत्मनिर्भर मुलुकको रुपमा घोषणा गरिएको बताए ।

स्वास्थ्यलाई कति आवश्यक पर्छ ?

विश्व खाद्य तथा कृषि संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध पिउनुपर्छ । दूध मात्रै होइन, स्वस्थ रहनका लागि १ वर्षमा १४ केजी मासु आवश्यक हुन्छ । खाद्य तथा कृषि संगठनका अनुसार वार्षिक ४८ वटा अण्डा उपभोग गर्नुपर्छ । नेपालमा भने प्रतिवर्ष प्रतिव्यक्ति ७९ लिटर दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

दूधको मूल्य बढ्दा किसानलाई फाइदा

गत हप्ता मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएपछि किसानहरु उत्साहित भएका छन् । सरकारले १३.१७ प्रतिशतले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेसँगै प्रतिलिटर दूधको मूल्य ५६.०४ रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको मूल्य ६.५२ रुपैयाँ अर्थात् १३.१७ प्रतिशतले बढेर किसानले पाउने मूल्य तोकिएको हो ।

किसानले पाउने मूल्य तोकिए पनि उपभोक्ताले पाउने मूल्यभने सरकारले तोकेको छैन । सरकारले व्यवसायी र उपभोक्ताले पाउनुपर्ने मूल्य नतोकेपछि अन्यौलता छाएको छ । किसानको मागअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउने निर्णय गरेको थियो । कृषिमन्त्री महिन्द्राराय यादवले ९ सदस्य अध्ययन समिति बनाएर अनुगमन गरेपछि मूल्य बढाइएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा पशुसेवा विभाग, डेरी उद्योग संघ, नेपाल डेरी संघ, दुग्ध विकास संस्थान, उपभोक्ता मञ्च, कृषि मन्त्रालय र किसानसहितको समिति बनेको थियो । २७ जिल्लामा स्थलगत अध्ययन गरेको समितिले प्रतिवेदन तयार गर्‍यो र सोही प्रतिवेदनमा दूधको उत्पादन लागत प्रतिलिटर ५७.१४ रुपैयाँ देखाएको थियो । तर, सरकारले भने प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो ।

नेपाल डेरी संघका अनुसार कच्चा दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ हुँदा त्यसमा थप ३० रुपैयाँ संकलन तथा प्रशोधन लागतमा जोड्दा ८६ रुपैयाँ हुन आउँछ । संघका अनुसार अहिले नेपालमा करिब ५ लाख जना दूध उत्पादन लागेका छन् । अहिले दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये ३२ लाख लिटर दूध बिक्रीका लागि बजारसम्म आइपुग्ने गरेको छ । बाँकी ३० लाख लिटर दूध घरेलु प्रयोजनमै खपत हुने गर्छ ।