
काठमाडौं, २३ माघ । बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकलाई तरलता अभावसम्बन्धि सुझाव दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै तरलता अभावसम्बन्धि प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा २०७८ आषाढमा ४७ प्रतिशत रहेको मुद्दति निक्षेपको अंश २०७८ मार्ग मसान्तमा ५४.३ प्रतिशत पुगेको र बचतको अंश ५४.३ प्रतिशतबाट ३१.५ प्रतिशतमा झरेको बताइएको छ।
निक्षेप मिश्रणले ल्याएको तरलता असन्तूलन देखिएको भन्दै सिबिफिनले बैंकहरुको निक्षेपमा चल्ती र बचतको अंश घट्दै गइरहेको बताएको हो । ‘मुद्दतिको अंश भने एक्कासी बढ्न गइ तरलता व्यवस्थापनमा दबाव पुगेको छ, प्रतिवेदनमा भनिएको छ, ‘मुद्दति निक्षेप बढिरहेको भएता पनि २ वर्षभन्दा कम अवधिको निक्षेपको अंश करिव ९० प्रतिशत रहेकाले हरेक वर्ष वा त्योभन्दा कम अवधिको समयमा वाणिज्य बैंकहरुलाई निक्षेप नवीकरण गर्नुपर्ने दबावले तरलता तथा ब्याजदरलाई प्रभावित पारिरहेको देखिन्छ ।’
सरकारी संस्थाहरुमा रहेको मुद्दती निक्षेपहरु न्युनतम ३ वर्ष अवधिसम्म राख्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने, बचत र मुद्दति निक्षेपको ब्याजदरमा धेरै अन्तर हुँदा बचतमा निक्षेप राख्ने प्रवृति घटेको छ । त्यसैले १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपमा बचत खाताको ब्याजदरभन्दा १ प्रतिशत मात्र बढी प्रिमियम थप गर्न पाउने व्यवस्था गर्नुपर्ने र मुद्दती निक्षेप ३ वर्षसम्म कुनै ब्याजदरमा लिइएको छ भने ३ वर्षभन्दा बढीको मुद्दतीमा हरेक १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष, ५ वर्ष र ५ वर्ष भन्दा बढी अवधिका लागि प्रष्ट रुपमा कम्तिमा २५ आधार अंक फरकपर्ने गरी ब्याजदरको अन्तर तोकेर ब्याजदर सार्वजनिक गर्नुपर्ने सिबिफिनले सुझाव दिएको हो ।
नेपाल राष्ट्र बैंकको मंसिर २०७८ को तथ्यांक अध्ययन गर्दा उपभोग्य कर्जा अन्तर्गतको ‘अन्य’ शीर्षकमा ६२३ अर्ब रुपैंयाँ कर्जा गएको सिबिफिनले जनाएको छ । ‘अन्य’ शीर्षकअन्तर्गत नै ४३२ अर्ब रुपैंयाँ कर्जा प्रवाह भएको हुँदा दुवै प्रष्ट रुपमा उद्देश्य नखुलेको कर्जा जोड्ने हो भने १० खर्ब ५५ अर्ब रुपैंयाँभन्दा बढी हुने प्रतिवेदनमा उल्लेख छ । जुन जम्मा कर्जा ४६ खर्ब ३ अर्ब रुपैंयाँको करिब २३ प्रतिशत हुन आउँछ । यसरी यस्ता अनुत्पादक क्षेत्रमा ह्वात्तै कर्जा बढेपछि तरलता व्यवस्थापनमा चाप पर्नु स्वभाविकै देखिन्छ ।
घररजग्गा, सेयर आदिजस्ता प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग पु¥याउनुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुई थरिको ब्याजदर प्रणाली लागू गर्ने, जस्तैः उद्योग र व्यापारिक फर्मलाई प्रवाह हुने कर्जामध्ये उद्योगलाई प्रवाह हुने कर्जालाई तुलनात्मकरुपमा कम व्याजदरको व्यवस्था गरी प्रकाशित गर्न र उत्पादनमुलक क्षेत्र बाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा ब्याजदर तथा अन्य सेवा शुल्क निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई नै स्वायत्तता प्रदान गरिनुपर्छ ।’
चालू आव ०७८/७९ को पहिलो ४ महिनामा कुल ६ खर्ब ५० अर्ब २९ करोड रुपैंयाँको आयात भएको देखिन्छ । गत आ. व. मा १० प्रतिशतले घटेको आयात यस अवधिमा ६१.६ प्रतिशतले बढेको देखिन्छ । यसरी आयातमा बढी खर्च हुँदा पूँजी निर्माण हुन नसकिरहेकाले तरलतामा चापपर्ने बताइएको छ ।
आयातमा थप कडाई गरी सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा १०० प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने र यसले स्वदेशी वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन मिल्ने, विद्युतीय सवारी साधन, चुल्हो आदि प्रयोग गर्न प्रोत्साहित गर्ने प्रतिवेदनमा बताइएको छ ।
यस्ता छन् सिबिफिनले दिएका तरलता अभावका कारण, समाधान तथा सुझावहरु
१.निक्षेप मिश्रणले ल्याएको तरलता असन्तूलन
२.अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण
३.आयातमा थप कडाई गर्नुपर्ने
४.विप्रेषण आप्रवाहलाई (Remittance income) व्यवस्थित गर्ने
५.कर्जा मिश्रणले ल्याएको तरलता असन्तुलन
६.सरकारी पूँजीगत खर्चमा वृद्धि र प्रक्रियामूखी भुक्तानी प्रणालीमा सुधार गर्नुपर्ने






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



