१४ अर्ब १० करोडको ‘विकास ऋणपत्र’ जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । २ वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ सार्वजनिक गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार मौद्रिक व्यवस्थापन विभागद्वारा निष्काशन गरिने उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

भोलि माघ २५ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको निष्काशन मिति र साँवा भुक्तानी मिति माघ २६ गतेलाई तोकेको छ । ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने बताइएको छ ।

सार्वजनिक बोलकबोलमार्फत् जारी गरिने यस ऋणपत्र खुल्ला प्रतिस्पर्धात्मक बोलकबोलमार्फत बिल सार्वजनिक गरिने भए पनि कुल निष्काशनको ८५ प्रतिशत खुल्ला र १५ प्रतिशत विना प्रतिस्पर्धा विक्री गरिने बैंकले जनाएको छ ।

खरिद गर्नका लागि घटीमा ५० हजार र बढीमा कुल निस्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने अंकसम्मको खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल पक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्रै भाग लिन पाउनेछन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ ‘ख’ ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धी रुपमा भाग लिन पाउने छैनन् ।