मल उत्पादन गर्न सस्तोमा विद्युत् उपलब्ध गराउँछौं : ऊर्जामन्त्री भुसाल

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा आज भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ ।’ लगानी बोर्डमार्फत् लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन्, ‘हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, यहीभित्र नाफा, व्यापार खोजौँ, मेरो विनम्र आग्रह छ ।’

जलविद्युत् प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘हामी आवश्यकताअनुसारको विद्युत् उपलब्ध गराउन तयार छौँ, जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार छौं ।’ ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिति आउन नदिने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जाकै कारणले महँगो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।’