जाल्पा लघुवित्तको आइपिओमा पर्याे सर्वाधिक आवेदन, चौथो दिनसम्म ६८ गुणाले ओभर सब्सक्राइब

-



     सफल आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ माघ । यही माघ २१ गतेबाट निष्काशन भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा चौथो तथा अन्तिम दिन आज ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ । प्राप्त आवेदनको हिसाबले यो निष्काशन अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त आइपिओ भएको छ ।

निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कितामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको हाे ।

निष्काशनको अन्तिम तथा चौथो दिन अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय किता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको प्रभु क्यापिटलले जनाएको छ ।