
काठमाडौं, २८ माघ । सेतो खप्तड देखिने वित्तीकै व्यवसायी दीपक खड्कालाई हेली टूरको याद आउँछ । होचो ठाउँ तथा सहर केन्द्रित भएका मानिसहरुले सामान्य हिमपातमा पनि रमाइलो गरेको देख्दा उनलाई खप्तडको याद आउँछ ।
करिब ३ महिनासम्म नै बाक्लो हिउँ जमिरहने खप्तडमा सामान्य हिमपातमा मनोरञ्जन लिनेलाई खप्तडको स्वाद चखाउन चाहन्छन् उनी । त्यसैका लागि लामो समयदेखि प्रयासरत रहँदा गत वर्ष मात्रै उनी सफल भए ।
गत वर्ष खड्काकै पहलमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेर करिब २० दिन हेली टूर प्याकेज नै ग¥यो । गत वर्षको प्याकेजमा सफलता प्राप्त भएपछि यो वर्ष पनि सुदूरपश्चिमका प्रमुख पर्यटकीय क्षेत्र खप्तड र बडीमालिकाका लागि हेली प्याकेज सार्वजनिक गरिएको छ ।
शुक्रबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै नाट्टाले खप्तड र बडीमालिका क्षेत्रको प्रवर्द्धन गर्न हेली टूर प्याकेज सुरु गर्न लागेको जनाएको छ । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टका अनुसार कर्णाली पारीको नेपाललाई संसारभर चिनाउन हेली टुरको आयोजना गरिएको हो । ‘सुदूरपश्चिमलाई चिनाउन हेलीको सबैभन्दा कम खर्चमा प्याकेज सार्वजनिक गरेका हौं । व्यवसायी भएपछि फाइदा त जसले नी खोज्छ,’ उनले भने, ‘हामीले भने, सुदूरको पर्यटन चिनाउन फाइदा नभए पनि हेली टूर प्याकेज सुरु गरेका हौं । यो प्याकेजमा हाम्रो उद्देश्य भनेकै पर्यटन पवर्द्धन गर्ने हो ।’
हेली टूरमा लाग्ने खर्च मात्रै जोडेको उनले बताए । अध्यक्ष भट्टका अनुसार वर्षेनी हेली टूरजस्ता कार्यक्रम सञ्चालन गर्दा धेरै नागरिकले घुुम्ने अवसर पाउँछन् । उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित सबै निकाय सँगको समन्वयमा अघि बढ्दा मुलुकभरका नागरिकले एक न एक पटक सुदूरपश्चिम घुम्ने वातावरण अवश्य बन्छ ।’
अध्यक्ष भट्टको कुरालाई जोड्दै नेपाल पर्यटन वोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हेली प्याकेजजस्ता कार्यक्रमले पर्यटकहरु लोभिने बताए । उनले भने, ‘पर्यटन प्रवर्द्धन गर्न पर्यटन क्षेत्रमा विशेष प्याकेजहरु सार्वजनिक गर्नैपर्छ ।’ सरकारका सबै तहसँग सहकार्य गरेर अघि बढ्ने हो भने स्थायी रुपमै नै हेली टूर सञ्चालन गर्न सकिने उनले बताए ।

‘सम्भावनै सम्भावनाको खानी भएको सुदूरपश्चिममा हेली प्याकेज मानसरोवरसम्म सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘वर्षेनी लामो यात्रा गरेर हजारौं भारतीय पर्यटक चीनको मानसरोवर जान्छन् । उहाँहरुको सुविधा तथा अर्थोपार्जनका लागि पनि व्यवसायीले नजिकको विमानस्थल बझाङको चैनपुर विमानस्थल प्रयोग गरेर मानसरोवर हेली सञ्चालन गर्न सकिन्छ ।’ मानसरोवर हेली सञ्चालनका पर्यटन बोर्डले अध्ययन गरिरहेको उनले बताए ।
पर्यटक प्रवर्द्धन गर्न पर्यटकीय क्षेत्रमा भौतिक संरचनासमेत प्रर्याप्त हुनुपर्ने नेपाल नाट्टाका अध्यक्ष अच्युत गुरागाँईंले बताए । उनले भने, ‘एक पटक भ्रमणमा गएको पर्यटक दोस्रो पटक पनि जाने वातावरण हुनुपर्छ । त्यसका लागि सबै निकायले गम्भीर रुपमा सोचेर भौैतिक संरचना पर्याप्त बनाउनुपर्छ ।’
सुविधा भएको ठाउँमा पर्यटकहरुको ओइरो लाग्ने उनले बताए । हेली टूरका लागि पनि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायहरु मिल्ने हो भने वर्षभरि नै हेली सञ्चालन गर्न सकिने उनले बताए । गत वर्ष पनि नाट्टा सुदूरपश्चिमको आयोजनामा माघ १४ देखि फागुन ६ गतेसम्म खप्तड-बडीमालिका हेली प्याकेज सञ्चालन गरिएको थियो । सो प्याकेजमा ३५० जनाभन्दा बढी पर्यटकले बडीमालिका र खप्तडको अवलोकन गरेका थिए ।
यस पटकको प्याकेजमा दिपायल-खप्तड-दिपायल हेली चार्ज प्रतिव्यक्ति १२ हजार रुपैयाँ तोकिएको छ भने झिग्राना-खप्तड-झिग्राना हेली चार्ज ९ हजार ५ सय रुपैयाँ (१ रात खप्तड होमस्टेको बाससहित प्रतिव्यक्ति १२ हजार) तोकिएको छ । त्यसमा पनि ५ जना अनिवार्य हुनुपर्ने नाट्टाले जनाएको छ ।
झिग्राना-खप्तड र फेरि झिग्रानामा १ रात खप्तडमा बाससहित प्रतिव्यक्ति २२ हजार रुपैयाँ तोकिएको छ । धनगढी/महेन्द्रनगरदेखि झिग्रानासम्म दुुई तर्फी गाडी र झिग्राना-खप्तड-झिग्राना हेली २ रात ३ दिनको प्रतिव्यक्ति २७ हजार रुपैयाँ तोकिएको व्यवसायी दीपक खड्काले बताए ।
उनका अनुसार दिपायल-बडीमालिका-दिपायल हेली चार्जको प्रतिव्यक्ति ३० हजार रुपैयाँ तोकिएको छ भने दिपायल-खप्तड-बडीमालिका-दिपायल एकै पटक प्रतिव्यक्ति ३५ हजार रुपैयाँ तोकिएको उनले बताए । त्यसै प्याकेजमा भारतीय पर्यटकलाई दिपायल-खप्तड-दिपायल प्रतिव्यक्ति १६ हजार रुपैयाँ र दिपायल-खप्तड-बडीमालिका-दिपायल प्रतिव्यक्ति ४० हजार रुपैयाँ तोकिएको छ ।
अछामको साँफेबगरबाट पनि हेली टूरको प्याकेज सार्वजनिक गरिएको छ । साँफेबगरबाट बडिमालिका जाने र फर्किने पर्यटकका लागि प्रतिव्यक्ति २४ हजार रुपैयाँ तोकिएको छ । जसमा २० जना अनिवार्य हुनुपर्ने व्यवसायी खड्काले बताए । साँफेबगरदेखि खप्तडको भने १४ हजार रुपैयाँ तोकिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



