बुधबार १९ अंकले घट्यो नेप्से परिसूचक

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । आज नेप्से फेरि दोहोरो अंकले घटेको छ । मंगलबार ५३ अंकले बढेर २ हजार ७५४ बिन्दुमा प्रवेश गरेको नेप्से आज पुनः १९ अंकले घटेको छ ।

आज सेयर कारोबार मापक नेप्से सूचक १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा झरेको छ भने ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले घटेर ५१८.६६ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज निर्जीवन बिमा र अन्य समूह अन्तर्गतको उपसूचकबाहेक बाँकी सबै उपसूचक राताम्य भएका छन् । मंगलबारको तुलनामा आज कारोबार रकम समेत घटेको छ । आज साढे ५६ लाख कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबार ५३ अंकले बढेको बजारमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।