विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



महोत्तरी, ४ फागुन । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति ३ महिना मात्र बाँकी छ ।

महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबैजसो दलले चुनाव केन्द्रित गतिविधि सुरु गरेको देखिन्छ ।

सरकारले चुनावको मिति तोकेलगत्तै मधेशमा नेकपा (एमाले) ले निर्वाचनसम्बन्धी विशेष प्रशिक्षणकै तयारी गरेको छ । एमाले नेतृत्वले सबै प्रदेशमा निर्वाचन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयानुसार मधेश प्रदेशमा मंगलबार सुरु गरिएको सो कार्यक्रम आज बुधबार पनि जनकपुरधाममा जारी छ । सरकारले निर्वाचनको मिति तोकेपछि अब आफ्नो दलको सम्पूर्ण ध्यान चुनावमा गएको एमालेका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त बताउँछिन् ।

संघीय संसद्मा पहिलो दल भए पनि एमाले मधेश प्रदेशसभामा भने छैटौं ठूलो दल छ । यद्यपि उपाध्यक्ष पन्त यो प्राविधिक कुरा बताउँछिन् । ‘मधेशवादी दलले एमाले निषेधको नारा उछाल्दा पनि २०७४ को निर्वाचनमा प्रदेशसभाको तेस्रो ठूलो दल हौं,’ पन्तले भनिन्, ‘अब हामी माथि पुग्छौं ।’

प्रदेशसभाका २१ सदस्यबाट १३ नेकपा (एकीकृत समाजवादी) तिर उभिएपछि अहिले प्रदेशसभामा एमाले ८ स्थानमा खुम्चिएको छ । ‘जनताले एमालेलाई मत दिएका हुन्, सूर्य चिह्नमा मतदान गरेका हुन् नि ।’ पन्तले भनिन्, ‘पार्टी फोड्ने, जनमत खण्डित गर्ने र बखेडा खडा गर्नेको परीक्षा त अब चुनावमै हुनेछ ।’ मधेशमा पार्टीप्रतिको जनाकर्षण निकै बढेको पन्त जिकिर गर्छिन् ।

मुलुकको दोस्रो ठूलो दल (संघीय संसद्मा) नेपाली कांग्रेस अबको स्थानीय तहको निर्वाचन तयारीमा होमिएको छ । यसअघि २०७४ सालको निर्वाचनमा आपसी तालमेल गरेका तत्कालीन मधेशवादी दल र एमाले चिराचिरा परेका र पछिल्लो चरणमा नेकपामा भएको विभाजनले अबको निर्वाचनमा कांग्रेस उकासिने दलका केन्द्रीय सदस्य महेन्द्रकुमार राय बताउँछन् ।

‘हाम्रो दलको स्थानीय तहका पार्टी अधिवेशन सम्पन्न भएर नेतृत्व स्थापित भइसकेका छन्, सबैको ध्येय चुनाव केन्द्रित छ,’ रायले भने, ‘ दलका वडासहितका स्थानीय पार्टी समिति चुनावका लागि आवश्यक तयारीमा जुटिसकेका छन्, कांग्रेसबाहेकका दल विखण्डित भई चिराचिरामा विभाजन भएको जनताले देखेका छन्,’ रायले भने, ‘यो पक्षले पनि कांग्रेसप्रति जनताको पुरानो आस्था अहिले दृढ बन्दो छ ।’

नेकपा (माओवादी केन्द्र)ले पनि महोत्तरीसहितका मधेश प्रदेशमा अब हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दल सफल हुने जिकिर गरेको छ । आफूहरुले अधिकारसम्पन्न मधेश प्रदेशका लागि निर्वाह गरेको भूमिका र सङ्घर्षले नै जनतामा माओवादी केन्द्र स्थापित भएको सो दलका केन्द्रीय सदस्य राजु खड्काको जिकिर छ । ‘हाम्रो अगुवाइमा मधेशको पहिचान स्थापित भएको छ, प्रदेशका नाउँमा स्थापित पहिचानले संघर्ष अब थप अधिकारका लागि अघि बढ्ने बाटामा छ,’ दलको महोत्तरी इञ्चार्ज खड्काले भने, ‘जनताले त यी सबै पक्ष मूल्याङ्कन गरिरहेका छन् नि, यसको नतिजा आसन्न स्थानीय निर्वाचनले दिनेछ ।’ प्रतिगमनविरुद्धको खबरदारी र संघर्ष एवं त्यसले प्राप्त गरेको परिणाम जनताको मूल्यांकनमा रहेको खड्काको भनाइ छ ।

चुनावको मिति तोकिएपछि संघीय सरकारमा सत्ता साझेदार र मधेश सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी आउने वैशाख ३० गते हुने निर्वाचन तयारीमा लागेको छ । मधेश प्रदेश सरकारको नेतृत्वकर्ता रहेको आफ्नो दलको पहलकदमीले प्रदेशको नाउँ र राजधानीको टुंगो लगाउने मात्र नभई वर्षौं वर्षदेखि शोषण, उत्पीडनमा रहेका जाति समुदायका लागि विशेष अवसर सिर्जना गरेको सो दलका महोत्तरी अध्यक्ष नागेन्द्रप्रसाद यादव बताउँछन् । ‘मधेश प्रदेशमा ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रमले छोरी शिक्षामा क्रान्ति नै ल्याएको छ,’ यादव भन्छन्, ‘जेजति उपलब्धि हासिल भएका छन्, मधेशी जनताले यसलाई नियालिरहेका छन्, यो जनताको मूल्यांकन निर्वाचनमा मुखरित हुनेछ ।’

पछिल्लो चरणमा संघर्षका विभिन्न कार्यक्रमसाथ आन्दोलनमा रहेको जनमत पार्टीले पनि चुनाव केन्द्रित सांगठनिक गतिविधि बढाइरहेको देखिन्छ । निकैपछि खुला राजनीतिक गतिविधिमा सक्रिय सो दल मधेश प्रदेशमा आफ्नो ठाउँ बनाउन लागिपरेको यहाँका राजनीतिक विश्लेषक बताउँछन् । ‘जनमत पार्टीका पछिल्ला आन्दोलन र कार्यकर्ताका गतिविधि आलोच्य त भएका छन् तर दलले उठाएका आवाज जनसरोकारका छन्,’ राजनीतिक विश्लेषक रणधीर चौधरी भन्छन्, ‘यो दलले उठाउँदै आएको भ्रष्टाचारविरुद्धको मुद्दा र किसानका मागलाई सम्यक तरिकाले जनताबीच पुर्‍याउन सक्नुपर्छ, यसले जनस्तरमा नयाँ चासो बढाउन सक्छ ।’

केही पहिले जनमत पार्टीको आन्दोलनमा कर्मचारीलाई कालोमोसो दल्ने, बाटो हिंड्नेलाई ढुंगामुढा गर्ने प्रवृत्ति भन्ने सच्चिनै पर्ने चौधरीको भनाइ छ । जनमत पार्टीले आन्दोलनमा उठाउँदै आएको मुद्दालाई अझ सूक्ष्म विवेचना गरेर कार्यान्वयन पाटामा देखिएका कमजोरी उजागर गर्नुपर्ने जलेश्वर नगरपालिका–४ निवासी चौधरीको मत छ ।