
तनहुँ, ५ फागुन । ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ ।
सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोत साधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रंकिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । जलाशययुक्त यस आयोजनालाई बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब ६ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिने, र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको उनको भनाइ थियो ।
विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ । ‘आयोजनाको जलाशय ७.२६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने छ ।’ प्रबन्ध सञ्चालक श्रेष्ठले भने, ‘आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगको करिब १८ किलोमिटरसम्म फैलनेछ ।’ सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ ।’
विद्युत्गृहमा ७०/७० मेगावाटका दुईवटा फान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने प्रबन्ध सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सवस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ । आयोजनाबाट जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, व्यासनगरपालिका र बन्दिपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दालाई असर पर्नेछ । निजी जग्गाधनीलाई मुआब्जा दिइ जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ । (रासस)








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




