एमाले अध्यक्ष ओलीसहितका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिहीबार नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो ।

सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दाबी गर्दै निष्पक्ष छानबिनसहित कारबाही गर्न माग गरिएको छ । उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।

भ्रष्टाचारमा ओलीसहित तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएको भन्दै छानविन गरी कारबाही गर्न माग गरिएको हो ।

अनेरास्ववियुले भिजिट नेपाल २०२० को नाममा राज्य कोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरेको छ ।