भारतको अहमदावाद बम विष्फोट : ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई जन्मकैद

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । भारतमा १४ वर्षअघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाइएको छ भने अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको छ ।

भारतको विशेष अदालतले सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपीमध्ये ४९ जना दोषीलाई फाँसी तथा जन्मकैदको फैसला गरेको हो । २८ जनाले भने सफाइ पाएका छन् ।

१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए । अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्‍याइएको समाचारमा उल्लेख छ । सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको ज्यान गएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरीले जनाएको भारतीय सञ्चार संस्थाले उल्लेख गरेका छन् ।